इस्लामाबाद(पाकिस्तान), १० साउन । पाकिस्तानमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष भलिबल टोलीले लगातार चौथो हार ब्यहोरेको छ ।
पाकिस्तान इस्लामावादमा आज बंगलादेशविरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा नेपाली टोली ३को विरुद्ध २ सेटले पराजित भएको हौ । आजसहित नेपाल तेस्रो पटक पाँचौं सेटमा पुगेर पराजित भएको छ।
आजको खेलमा बंगलादेशले नेपाललाई १८-२५, २५-१९, २१-२५,२५-२३,१५-११ ले हराएको हो।
नेपाल यसअघि पाकिस्तानसँग ३-० तथा श्रीलंका र काजकस्तानसँग ३-२ सेटमा पराजित भएको थियो।
नेपाल, काजकस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरि ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्।
सबैले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्।
नेपालले राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेल भोलि उज्वेकिस्तानसँग खेल्नेछ।








