Prakash Adhikari July 26, 2026

काठमाडौँ,१० साउन । सानिमा क्यापिटल नक्सालमा कार्यरत रश्मी रिजालको आत्मदाहले नेपालको पूँजी बजारमा हल्लीखल्ली मच्चिएको छ ।

रश्मीले किन आत्महत्याको बाटो रोज्नुपर्यो यो विषयको जानकारी हालसम्म अनुसन्धानमा खुलेको छैन । कारण व्यक्तिगत,पारिवारिक, कार्यालय वा जे पनि हुन सक्छ । एकथरीले शेयर बजारको घट्दो प्रवृत्ति र लगानीकर्ताहरुको निरन्तरको सम्पत्तिको ह्राससंग पनि यसलाई जोडेर हेरेका छन् । मर्चेन्ट बैंकहरुले पनि पोर्टफोलियो म्यानेजमेन्टको काम गर्ने भएकोले व्यक्ति तथा संस्थाहरुको मार्जिन लेण्डिड.का समस्याबाट त्यहाँ कार्यरत कर्मचारी पनि टेन्सनमा रहने अवस्था त हुन्छ । तर उनीहरुको भूमिका मध्यस्थको मात्र रहने भएकोले कर्जा लिने व्यक्ति वा संस्था र कर्जा दिने वित्तीय संस्थाका कर्मचारीहरुलाई पर्ने जतिको टेन्सन चाहि उनीहरुलाई पर्दैन ।

यसबाहेक व्यक्तिगत लेनदेन,पारिवारिक सम्बन्ध, शेयर बजारको लगानी आदि पक्षका कुराहरु सार्वजनिक भैसकेका छैनन् ।

तर घट्ना अरु कसैले घटाएको नभएर उहाँ आफैले गरेको भने अनुुसन्धानमा खुल्न आएको छ ।

यो घट्नाको अनुसन्धानमा कार्यरत प्रहरीहरुले घरबाट निस्केर उहाँ सिधै घटनास्थलमा गएको र पेट्रोल छर्केर आत्मदाह गरेको निष्कर्ष निकालेका छन् । उहाँ पेट्रोल बोकेर घटनास्थलमा पुगेको देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट रश्मीले आफैँलाई जलाएको अनुसन्धानले देखाएको एसपी पवन भट्टराईले बताउनुभएको छ । उहाँले सिसिटिभी फुटेजको विश्लेषण गर्दै घटनास्थलमा अरूको उपस्थिति नभएको बताउनुभयो ।

गाडीमा एयर कन्डिसन अन गरेर शुरुमा कारभन्दा बाहिर शरीरमा पेट्रोल छर्केको र भित्र छिरेर आगो लगाएको अनुसन्धानको निष्कर्ष छ । गाडीभित्र जलेको अवस्थामा ३ वटा लाइटर प्रहरीले बरामद गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी वृत्त बालाजुका एक अधिकृतका अनुसार गाडीको ढोका लक गरेर आगो आफैँले लगाएको सिसिटीभीबाट पनि देखिन्छ ।

अनुसन्धान अधिकृतहरूका अनुसार रश्मीले आत्मदाह गरेको र अनुहार र खुट्टा जलेको पाइएको छ । गाडीको भित्री भाग जलेको छ भने बाहिरी भाग जलेको छैन ।

घटना अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–१ की ४५ वर्षीया रश्मी रिजाल साउन ८ मा बिहान ७ बजे घरबाट निस्केर घर फर्कनु भएन ।

नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित तादी घर भएर मनमैजुमा बस्ने रिजाल घर नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिए । प्रहरी वृत्त बालाजुले खोजीकार्य गरिरहेको बेला खबर आयो, ‘तारकेश्वरस्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक एउटा गाडी शङ्कास्पद रूपमा रोकेर राखिएको छ ।’

कालो सिसा भएकाले स्थानीयले गाडीभित्र केही देखेनन् । प्रहरी पुगेर चेकजाँच गर्दा बिएई ०४१० नम्बरको ईभी कारभित्र रश्मी मृत अवस्थामा भटियो । रश्मीको शरीर कारको पछिल्लो सिटमा थियो, गाडीको चाबी चालक सिटमा नै थियो ।

आइतबार पोस्टमार्टमपछि उहाँका श्रीमानले शव बुझ्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शव परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताउनुभयो ।

तारकेश्वर नगरपालिका वडा नम्बर–९ मनमैजुस्थित शुभकामना चोकमा बस्दै आएकी रश्मी साउन ८ गते बिहान घरबाट निस्कनुभएको थियो ।

नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडको मर्चेन्ट हेडको रूपमा कार्यरत रश्मी केही समयदेखि तनावमा भएको बताइएको छ। गएको महिना लगातार ३ दिन कार्यालयमा अनुपस्थित भएपछि कार्यालयले उहाँको खोजी गरेको थियो । घटनास्थलमा भेटिएको गाडी उहाँकै भएको बताइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share Now