Prakash Adhikari September 6, 2026

काठमाडौं, २१ भाद्र । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्ग त्रिभुवन राजपथ (बाइरोड) मार्फत काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ।

गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेटहरू बाटोमै रोकिएका थिए। उपत्यकामा इन्धनको अभाव हुन नदिन निगमले तराईका उद्योगहरूबाट भरिएका ग्यास सिलिन्डर त्रिभुवन राजपथ हुँदै भित्र्याउन थालेको हो।

निगमका अनुसार भदौ १८ गते २४ हजार ५ सय र भदौ १९ गते ३४ हजार १ सय ३४ वटा ग्यास सिलिन्डर उपत्यका भित्र्याइएको छ। बजारमा आपूर्ति प्रणाली सहज राख्न सार्वजनिक बिदाका दिनमा समेत ग्यासको रिफिलिङ र ढुवानी निरन्तर जारी राख्न उद्योगहरूलाई निर्देशन दिइसकिएको छ।

यसैबीच, गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा पुगेको क्षतिपछि जारी खोज तथा उद्धार कार्यका लागि पनि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ।

उद्धार तथा राहतमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ।

साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५ सय ७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ।

Share Now