Prakash Adhikari February 3, 2024
जानकी (बाँके), २० माघ : बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीमा शुक्रबार घडीयाल गोही छाडिएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले एक कार्यक्रमकाबीच राप्ती सोनारी–१ स्थित कुसुम बैरिया–भम्का जोड्ने घाटको राप्ति नदीमा एउटा भालेसहित १० गोही छाडिएको हो ।
लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले नदीमा गोही छाड्दै वातावरणीय सन्तुलन र जलवायु स्थिरता कायम राख्न घडियाल गोहीको भूमिका अति नै महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले नदीमा छाडिएका गोहीको संरक्षणका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो । राप्ती नदी आसपासका बस्ती त्यहाँँको संस्कृति र त्यसको वरिपरिको धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटकीय सर्किट बनाउन सबैको पहल आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो ।
सोही अवसरमा तराई भूपरिधि कार्यक्रम प्रबन्धक लक्ष्मणप्रसाद पौडेलले आहाराविना वन्यजन्तुको संरक्षण सम्भव नहुने बताउनुभयो । घडियाल गोहीका कारण स्थानीयलाई कुनै जोखिम छैन । गोही र घडियाल घट्दै गएकाले वातावरणमा समस्या पर्ने हुँदा समस्या नहोस् भन्नका लागि नै घडियाल नदीमा छाडिएको हो । उहाँले भन्नुभयो, “उसको आहारा ठूलो वन्यजन्तु होइन, फ्रेस माछा नै हुन् र पानीभित्र पाइने खानेकुरा मात्र हुन्, घाम लागेका बेला बालुवामा फुल पार्छन्, त्योबेला अलि सजगता अपनाउन जरुरी छ ।”
होमस्टे महासङ्घका महासचिव कृष्ण चौधरीले समुदायलाई संरक्षणमा जागरुक बनाएर संरक्षणमा सहभागी बनाउन आवश्यक भएको बताउनुभयो । मानवबस्तीका बीचको नदीमा घडीयाल छाडिँदा हुनसक्ने जोखिमलाई ख्याल गरिनुपर्ने उहाँको भनाइ थियो । “नदीमा आश्रित समुदायको रोजीरोटीको पनि ख्याल गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “संरक्षणसँगै नदीमा निर्भर समुदायको बाँच्ने अधिकार खोसिनु हुँदैन ।”
यस क्षेत्रमा बालुवा छानेर सुन खोज्ने तथा माछा मारेर जिविका चलाउनेको बसोबास धेरै रहेकाले सो क्षेत्रलाई घरबाससहितको पर्यटकीय क्षेत्र बनाउन पहल थालिनुपर्ने महासचिव चौधरीले बताउनुभयो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले संरक्षणसँगै नदीमा निर्भर समुदायलाई बाँच्ने आधारको विकल्प दिनमा जोड दिनुभयो ।
मानवबस्तीका बीचमा घडियाललाई सुरक्षित राख्न चुनौती रहेको उहाँको भनाइ थियो । “मानवबस्तीका बीचमा घडियाललाई सुरक्षित राख्न सबैको नियमन आवश्यक छ”, उहाँले भन्नुभयो, “समुदायलाई नदीमाथिको निर्भरताको विकल्प दिन आवश्यक छ र त्यसो गर्न सकेमात्र त्यो सम्भव छ ।” घडियाल गोहीमा सबैभन्दा ठूलो प्रजातिको गोही हो । त्यसको भालेको लम्बाइ चारदेखि छ मिटरसम्मको हुने गर्दछ ।
सन् १९७० भन्दा पहिले नेपाल, पाकिस्तान, म्यान्मा, भारत र भूटानका नदीमा पाइने उक्त गोही हाल नेपाल र भारतमा मात्र पाइन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार हाल नेपालको नारायणी नदीमा ८४, राप्ती नदीमा ८२, बबई नदीमा ३१ र कर्णाली नदीमा एक गरी जम्मा एक सय ९८ घडियाल गोही छन् ।
Share Now