काठमाडौं, १५ आषाढ । नेपालमा कफी संस्कृतिको विकास र कफीका पारखीहरुलाई माग अनुरुपका स्वादहरु उपलब्ध गराउने उद्देश्यले नेपाल हिमालयन अर्गानिक कफी उद्योगले बिन टु ब्रु बरिष्टा तालिम सञ्चालन गर्न थालेको छ ।
कफिका बोटको दानादेखि पिउने कपको स्वादिलो कफी तयार पार्नेसम्मको व्यवहारिक ज्ञान र विभिन्न स्वादका कफी बनाउने सीप सिकाउन ं“बिन टु ब्रु बरिस्ता तालिम” सुरु गरिएको हो ।
जनवरी २०२६ देखि सुरु भएको यो बहुउपयोगी तालिमको दोस्रो ब्याचले हालै प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो ब्याच बिहान ७ बजेदेखि ९ बजेसम्म दैनिक दुई घण्टा तालिमरत रहेको छ। तालिममा आधुनिक डिजिटल कफी मेसिन सञ्चालन, नवीनतम प्रविधि तथा व्यावहारिक अभ्यासलाई विशेष प्राथमिकता दिइएको छ ।
तालिमका वरिष्ठ प्रशिक्षक श्रीमती अनिता घले कपालीले कफी उद्योगमा सफल हुन सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक सीप महत्वपूर्ण हुने बताउँदै प्रशिक्षार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान र अनुभव प्रदान गरिएको जानकारी दिनुभएको छ ।
संस्थाका निर्देशक सन्तवीर लामाका अनुसार नेपालमा कफी उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ र दक्ष बरिस्ताको माग बढ्दो छ । “हामी युवालाई विदेश जानुभन्दा आफ्नै देशमा सीप सिकेर सम्मानजनक रोजगारी तथा स्वरोजगारीतर्फ उन्मुख गराउने लक्ष्यका साथ काम गरिरहेका छौं,” उहाँले बताउनुभयो ।
हिमालयन अर्गानिक कफी उद्योगकी प्रबन्ध निर्देशक सुश्री मुना बस्नेतले तालिमले विशेषगरी युवा तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याइरहेको बताउनुभयो ।
उहाँका अनुसार तालिम पूरा गरेका धेरै सहभागीहरू कफी सप, होटल, रेष्टुरेन्ट तथा विभिन्न आतिथ्य क्षेत्रहरूमा रोजगारी प्राप्त गर्न सफल भएका छन् ।
काठमाडौ बुढानीलकण्ठ नगरपालिका वडा १० कपन मिलनचोक (जोसेफ हाई स्कूलको अगाडि) अवस्थित तालिम केन्द्रमा सञ्चालन भइरहेको यस कार्यक्रमले नेपालमा विकसित हुँदै गएको कफी संस्कृतिलाई थप विस्तार गर्नुका साथै दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र र रोजगारी क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा संचालकहरुले गरेका छन् ।
नेपाल हिमालयन अर्गानिक कफी उद्योग प्रा. लि.ले आगामी दिनमा अझ उन्नत तालिम, अन्तर्राष्ट्रियस्तरको बरिस्ता शिक्षा तथा कफी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरी नेपाली कफी क्षेत्रको प्रवर्धनमा निरन्तर योगदान गर्ने जनाएको छ । संस्थाले “बीन टु ब्रु बरिस्ता तालिम” सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थी हरूलाई प्रमाणपत्र दिंदै आएको छ । यो संस्थाबाट दोस्रो ब्याचका प्रशिक्षार्थीहरूले तालिम तथा इन्टर्नशिप सफलतापूर्वक पूरा गरी प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
उक्त प्रमाणपत्रले सहभागीहरूको सीप तथा दक्षताको औपचारिक मान्यता प्रदान गर्नुका साथै होटल, रेष्टुरेन्ट, क्याफे तथा आतिथ्य क्षेत्रमा रोजगारी प्राप्त गर्न थप सहज वातावरण सिर्जना गरेको छ । तालिम पूरा गरेका धेरै युवाहरू विभिन्न कफी सप, होटल तथा आतिथ्य सेवासँग सम्बन्धित क्षेत्रमा आबद्ध भइसकेका छन् भने केहीले आफ्नै कफी व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।
यसरी “बीन टु ब्रु बरिस्ता तालिम” ले केवल सीपमूलक शिक्षा मात्र प्रदान नगरी सहभागीहरुको क्षमता अभिबृद्धि गर्दै रोजगारी तथा स्वरोजगारीको अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सञ्चालकहरुको दावी छ ।
कफीपान सभ्य समाजको प्रतिष्ठा र संस्कारसंग जोडिदै आएकोले यो सीप भएका व्यक्तिहरुले बाह्य मुलुकमा पनि सहजै रोजगारी पाउँछन र तुलनात्मक रुपमा सानो लगानीमा स्वरोजगारी सिर्जना पनि गर्न सक्छन् ।
नेपालमा कफी खेतीको इतिहास वि.सं. १९९५ तिर गुल्मी जिल्लाबाट सुरु भएको मानिन्छ। आज नेपालका दर्जनौं जिल्लामा अर्गानिक कफी उत्पादन हुँदै आएको छ। नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो पहिचान बनाइरहेको छ ।
नेपालमा मध्यम वर्गको विकास, कर्पोरेट कल्चर, गैरआवासीय नेपालीहरुको जन्मभूमिको आउजाउ र विश्वका पर्यटकहरुको आगमन र कफीप्रति उनीहरुको मोहका कारण नेपालका कफी खाने आदत बढ्दै गएको छ र कफी बजार विस्तार हुँदै गएको छ । विभिन्न स्वादका कफीहरु उपभोक्तालाई उपलब्ध गराउन दक्ष बरिस्ता, कफी रोष्टर तथा कफी व्यवसायीको माग निरन्तर बढिरहेको छ ।








