Prakash Adhikari February 3, 2024

कीर्तिपुर (काठमाडौं), २० माघ । यस बर्षको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल प्रहरीको विभागीय टिम नेपाल पुलिस क्लबले चुमेको छ ।

आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ६ विकेटको विजय निकाल्दै पुलिस क्लबले सो उपाधि हासिल गरेको हो ।

टस जितेर फिल्डिड. रोजेको पुलिस क्लबले नेपाल आर्मीबाट १ सय ८२ रनको लक्ष्य पाएको थियो । ५० ओभरको निर्धारित खेलमा ३७.५ओभरमा ४ विकेटको क्षतिमा १ सय ८३ रन जोड्दै नेपाल पुलिस क्लबले ७३ बल बाँकी छँदै सो लक्ष्य भेट्टाएको थियो ।

नेपाल पुलिस क्लबका लागि शंकर रानाले सर्वाधिक ६२ रन,अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन, आशिफ शेखले २७ रन,कुशल भूर्तेलले १४ रन, दिलिप नाथले ७ रनको योगफल जुटाएका थिए ।

नेपाल पुलिसलाई रोक्ने क्रममा नेपाल आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले एक एक विकेट लिएका थिए ।

यस पहिले टस हारेर ब्याटिड.मा उत्रेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरको खेलमा ४९.५ओभरमा १० विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।

त्रिभुवन आर्मीका लागि विवेक यादवले ६३, सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७, सन्तोष कार्कीले ६, भीम सार्कीले ५, बिनोद भण्डारी,साहब आलम र जितेन्द्र मुखियाले २ । २, बसिर अहमदले १ रनको योगदान दिए भने सन्दीप रजाली खाता नखोेली आउट भए ।

त्रिभुवन आर्मीलाई रोक्ने क्रममा नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले ३ । ३ तथा कुशल भूर्तेल, सागर ढकाल र करन केसीले एक एक विकेट लिएका थिए ।

फाइनल खेलमा नेपाल पुलिस क्लबका ललित राजवंशी प्लेयर अफ द म्याच घोषित भए ।

Share Now