तेहरान(इरान), ७ जेठ (बीबीसी) । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको क्षेत्र पत्ता लागेको जनाएको छ।
टेलिभिजनले हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै सङ्केत नरहेको बताएको छ।
रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर पूर्ण रूपमा जलेको जनाइएको छ।
ती अधिकारीका अनुसार राष्ट्रपति चढेको हेलिकोप्टर पूर्ण रूपमा जलेको छ।।।दुर्भाग्यबस त्यसमा रहेका सबैको मृत्यु भएको ठानिएको छ।
इरानस्थित रेड क्रेसन्ट समाजका प्रमुखले पनि इरानी टेलिभिजनलाई दुर्घटना क्षेत्रको अवस्था राम्रो नभएको बताउनुभयो ।
त्यस अघि इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए।
इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा यात्रारत रहेको पुष्टि गर्नुभएको थियो।
उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि सवार हुनुहुन्थ्यो।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नु परेको थियो।
त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अन्य दुई हेलिकोप्टर सुरक्षित
उक्त हेलिकोप्टर इरानी उच्च अधिकारीहरू लिएर उडिरहेका अन्य दुईसमेत गरी तीन हेलिकोप्टरसँगै उत्तरी इरानको यात्रामा थियो।
मन्त्रीहरू र अन्य वरिष्ठ अधिकारी रहेका अन्य दुई हेलिकोप्टर भने सुरक्षित रूपमा गन्तव्यमा पुगेका छन्।
इरानी आन्तरिक मामिलामन्त्रीका अनुसार उद्धार टोली तत्काल सम्भावित घटनास्थलतर्फ लागेको थियो।
खराब मौसमका कारण घटनास्थलसम्म पुग्न कठिन भएको थियो।
उक्त क्षेत्रमा ४० भन्दा बढी उद्धार टोली खटाइएको विवरणहरू आएका छन्। त्यसमा आपत्कालीन कार्यमा प्रयोग हुने ड्रोनहरूको पनि उपयोग गरिएको थियो।
इरानीहरू स्तब्ध
यसअघि इरानीहरू उक्त घटनाबाट स्तब्ध भएको र राष्ट्रपतिसहित उहाँको टोलीका लागि प्रार्थना गरिरहेको विवरण आएका थिए।
इरानका विभिन्न सहरका सार्वजनिक स्थलमा निस्किएर पनि मानिसहरूले प्रार्थना गरेका तस्बिरहरू सार्वजनिक भएका छन्।
इरानी राष्ट्रपति इरान अजरबैजान क्षेत्रबाट उत्तर पश्चिमी इरानमा रहेको तबरिज सहर जाँदै हुनुहुन्थ्यो।
उहाँले अजरबैजानसँगको सीमा क्षेत्रमा बनेको एउटा बाँध उद्घाटन गर्नुभयो। त्यस क्रममा उहाँ र अजेरी समकक्षीसँगै हुनुहुन्थ्यो।
अजेरी राष्ट्रपतिले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो देश सबैखाले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
सूचना पाउन सकस
इरानी राष्ट्रपति बेल २१२ हेलिकोप्टरमा चढ्नुभएको थियो ।
इरानभित्र भएका यस्ता दुर्घटनाहरूबारे जानकारी प्राप्त गर्न निकै कठिनाइ हुने गरेको छ।
बीबीसीले विभिन्न अर्धसरकारी समाचार निकायहरूले सार्वजनिक गरेका जानकारीमा निर्भर भएर रिपोर्टिङ गरिरहेको छ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीइले हेलिकोप्टर दुर्घटनाको विवरण आएपछि इरानीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन्।
उहाँले उक्त घटनाले देशको काममा कुनै बाधा नपर्ने आश्वासन दिँदै त्यसो भन्नुभएको हो ।
आईआरएनए समाचार संस्थाले दुर्घटनास्थलतर्फ खोजी गर्नका लागि ४० वटा टोली खटाइएको जनाएको थियो।
त्यसमा तालिमप्राप्त कुकुरहरू र ड्रोनहरू पनि प्रयोग गरिएका थिए।
अमेरिकाले के भन्यो?
ह्वाइट हाउसका प्रवक्ताका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनलाई पनि उक्त घटनाबारे जानकारी दिइएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले उक्त घटनालाई नजिकबाट हेरिरहेको बताएका छन् तर उहाँले त्यसबारे थप बोल्नुभएको छैन ।
रुस, अजरबैजान, आर्मेनिया र इराकले उद्धार कार्यमा सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।
रुसले उक्त दुर्घटनाको कारण पत्ता लगाउनेगरी अनुसन्धान गर्नका लागि पनि आफूले सहयोग गर्न सक्ने बताएको छ।
यूएईले सहयोगका लागि तयार रहेको बताउँदै यो घडीमा इरानको साथमा रहेको जनाएको छ।
टर्कीले पहाडी भूभागमा उद्धार कार्यमा खटिने टोली इरान पठाएको छ। टर्कीका राष्ट्रपतिले उक्त घटनाबाट आफू मर्माहत भएको बताएका छन्।


















