Prakash Adhikari May 20, 2024

काठमाडौं, ७ जेठ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले  सहकारी ठगीका बिषयमा संयुक्त संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध र नाराबाजी गरेर संसद बैठक सञ्चालनमा अवरोध सिर्जना गरेपछि संसद बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले आजको नियमित कार्यसूचीमा प्रवेश गर्दै राष्ट्रपति कार्यालयबाट आएका पत्रहरु बाचन गर्ने र प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव टेवुल गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरु आआफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गर्न थाले । अन्य विपक्षी दलहरुका सांसदहरु आसनबाट उठे ।

प्रतिपक्षीहरुको विरोध र नाराबाजीको विचमा प्रधानमन्त्रीले विश्वासको मत लिनेजस्तो महत्वपूर्ण काम अगाडि बढ्न नसक्ने भएकोले दलहरुबीच विवादित विषयमा सहमति जुटाउने प्रयास गर्न सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ ।

संसद भवन बानेश्वरमै नेपाली कांग्रेसका शीर्षनेताहरु विपक्षी दलका नेताहरुसंग परामर्शमा छन् ।

सहकारी ठगीका बिषयमा संयुक्त संसदीय छानबिन समिति गठन नभइकन संसदका कामकारवाही सुचारु हुन नसक्ने देखिएकोले आज अपरान्ह समिति गठनको कुनै सहमतिमा दलहरु पुग्न सक्ने संभावना छ ।

Share Now