कीर्तिपुर(काठमाडौं), ५ मंसिर । जर्ज मुन्सेको शतकको मद्दतले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार साँझ भएको खेलमा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि उचालेको हो ।
फाइनल खेलमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेटको क्षति बिना १ सय ५८ रन जोडेर हासिल गर्यो ।
सुदूरपश्चिमका लागि ओपनर ब्याट्सम्यान जर्ज मुन्सेले सर्वाधिक १ सय २५ रन जोडे । उनले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतले १ सय २५ रन जोडेका हुन् । उनले आज छक्काको त बर्षा नै गरे । सुदूरपश्चिमका लागि अर्का ओपनर विनोद भण्डारीले ३० रनको योगदान दिए । उनले २७ बलमा तीन चौका पनि प्रहार गरे ।
यस अगाडि टस हारेर ब्याटिड.को निम्तो पाएको लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सका सामु जितका लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ६ विकेटको नोक्सानीमा १ सय ५५ रनको योगफल तयार पारेको थियो ।
खेलमा दिलिप नाथले नट आउट ३९, कप्तान रोहितले ३०, निरोशन डिकवेलाले २८, अलि शेखले २४, डि आर्ची शटले २१, सन्दीप जोरा र रुवेन ट्रम्पल म्यानले ४ । ४ र आशिफ शेखले १ रनको योगदान गरेका थिए ।
लुम्बिनीलाई रोक्ने क्रममा सुदूरपश्चिमका लागि स्कट कुल्गेजिनले २ विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्र सिंह ऐरीले समान १ । १ विकेट झारे।
दोस्रो पटक पनि विजयी बन्ने लक्ष्यसहित मैदानमा उत्रिएको लुम्बिनीमाथि शानदार जित निकाल्दै यसपटक एपीएलको उपाधि सुदूरपश्चिमले जितेको छ ।
सुदूरपश्चिम एनपीएलका अघिल्ला दुई संस्करणमा पनि फाइनलमा पुगेको थियो । पहिलो संस्करणमा उसले जनकपुरसंग पराजय भोगेको थियो भने दोस्रो संस्करणमा लुम्बिनीले उपाधि जितेको थियो ।






