Prakash Adhikari May 20, 2024

काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ ।

आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःसुरु भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गर्नुभएको थियो । पुनः सुरू भएको बैठकमा पनि कांग्रेस सांसदको वेल घेराउ र नाराबाजी गरेका थिए । विरोधका बीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिनुभएको थियो ।

प्रधानमन्त्रीको प्रस्तावमाथि सत्तारुढ पार्टीहरुका तर्फबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बोल्नुभयो ।

विरोधकै बीच सभामुख घिमिरेले मतविभाजन घण्टी बजाउन र मतदानको प्रक्रियालाई सहजीकरण गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

अहिले संसदका ढोकाहरु बन्द गरिएका छन् । प्रधानमन्त्रीलाई समर्थन गर्नेहरुले सभामुखको दाँयातर्फको र विपक्षमा मत नदिनेहरुलाई बाँया लविमा रहेको पुस्तिकामा दस्तखत गर्न लगाइयो ।

तटस्थ रहनेहरुलाई सभामुख पछाडिको लबिमा रहेको पुस्तिकामा नाम लेखाउन आदेश दिनुभयो ।

प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले संसदमा नाराबाजी गरिरहेका छन् । उनीहरुले सहकारी ठगलाई कारवाही गर्न र सहकारी ठगीको छानविन गर्न संसदीय समिति गठनको माग राखेका छन् ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

Share Now