काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्यपकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभाको बहुमतले विश्वास प्रकट गरेको छ । उहाँले प्रतिपक्षी दलहरुको बिरोधका बीचमा चौथोपटक विश्वासको मत लिनुभएको हो।
प्रधानमन्त्री दाहाललाई १ सय ५७ जना प्रतिनिधि सभा सदस्यले विश्वासको मत दिएका थिए । विश्वासको मत प्रक्रियामा १ सय ५८ सांसद सरिक भएका थिए।मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्ष विपक्ष दुवैतर्फ मत दिनुभएन।
आजको बैठकमा उपस्थित भएर पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका अन्य विपक्षी दलहरू मतदान कार्यमा सहभागी भएनन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलहरुले पूर्वसहमति अनुसार सहकारी ठगीका सम्बन्धमा संयुक्त संसदीय छानबिन समिति बनाएर संसदका अन्य कार्यसूची अगाडि बढाउन माग गर्दै नाराबाजी गरेका थिए ।
सत्ता पक्षले सभामुख देवराज घिमिरेसंगको सहकार्यमा प्रतिपक्षीको मागलाई वेवास्ता गर्दै विश्वासको मत लिने प्रक्रियालाई परिणाममा पुर्याएको थियो ।
हाल विपक्षमा रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी छोडेर गएका सात जना सांसदलाई विश्वासको मतको प्रक्रियामा सरिक नगराउन सर्वोच्च अदालतमा दिएको रिटमा आजै अन्तरिम आदेश आउन सक्ने भएकोले सत्ता पक्षले पेलेर विश्वासको मत लिएको पनि बताइएको छ।
यो घट्नाले संसदको आगामी काम कारबाही कसरी बढ्छन भन्ने चिन्ता थपिएको छ ।
सत्ता पक्ष विपक्षीका मागलाई नजर अन्दाज गर्नेतिर मोडिदा संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन पर्ने अवस्था आउछ ।


















