लण्डन(संयुक्त अधिराज्य), २१ आषाढ(बीबीसी) । संयुक्त अधिराज्य(यूके)मा भएको संसदीय निर्वाचनमा लेबर पार्टीले अध्यधिक बहुमत पाएपछि राजा चार्ल्सले सो पार्टीका नेता किअर स्टार्मरलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
राजा चार्ल्सलाई राजीनामा दिएर निवर्तमान बन्नुभएका प्रधानमन्त्री तथा कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनक बकिङ्गम दरबारबाट बाहिरिएलगत्तै लेबर पार्टीका नेता सर किअर स्टार्मरलाई राजा चाल्र्सले नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।
राजा चार्ल्सलाई भेटेर प्रधानमन्त्रीको नियुक्ति लिएपछि स्टार्मर टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय जानुभएको थियो।
यसअघि कन्जरभेटिभ पार्टीका प्रमुख तथा प्रधानमन्त्री सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गर्नुभएको थियो भने लेबर पार्टी विजयी भएकोमा स्टार्मरले अब परिवर्तन सुरु हुन्छ भन्ने सन्देश दिनुभएको थियो।
विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यसपालि लेबर पार्टीले ६ सय ५० मध्ये ४ सय १२ सीट जितेको हो। यूकेको संसद्मा बहुमतका लागि ३ सय २६ सीट आवश्यक पर्छ।
यसपालि हाउस अफ कमन्समा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक छ। अहिलेसम्म २ सय ४० भन्दा बढी महिला उम्मेदवार सांसद निर्वाचित भइसकेका छन्। सन् २०१९ को निर्वाचनमा २ सय २० महिला सांसद थिए।
आफ्नो निर्वाचन क्षेत्र सुरक्षित रहेको पक्का भएपछि सुनकले लन्डन फर्किएर राजासँग भेट गर्नुभएको थियो।
पत्नी अक्षता मूर्तिसँग बकिङ्गम दरबार जानुभएका सुनकले राजालाई आफ्नो राजीनामा बुझाउनुभयो।
नराम्रो चुनावी नजिता बेहोरेका ऋषि सुनकले यसअघि ‘टेन डाउनिङ स्ट्रीट’ भनिने प्रधानमन्त्री कार्यालय छोड्नुभएको थियो ।
राजा चार्ल्ससँग प्रधानमन्त्रीको रूपमा अन्तिम भेट गरेर ऋषि सुनक बकिङ्गम दरबारबाट बाहिरिनुभयो ।
अब के हुन्छ?
यूकेमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
राजा र सर किअर स्टार्मरबीच भेटघाट भेटघाट भएपछि बहुमत पाएको दलका नेताका रूपमा स्टार्मर प्रधानमन्त्री नियुक्त हुनुभएको छ।
त्यस क्रममा राजाले स्टार्मरलाई नयाँ सरकार गठन गर्न र सरकारको नेतृत्व गर्न निम्तो दिएका थिए।
उहाँ दुई वर्षभित्र यूकेको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति बन्नुभएको छ।
राजासँग भेट गरेपछि उहाँले स्थानीय समयानुसार मध्याह्न राष्ट्रको नाममा सम्बोधन गर्नुभयो
कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट हट्ने घोषणा
टेन डाउनिङ स्ट्रीटबाट बाहिरिँदै गर्दा सुनकले यूके संसारकै सबैभन्दा उत्कृष्ट देश भएको बताउनुभयो। उहाँले आफ्ना सहकर्मी र परिवारलाई धन्यवाद पनि दिनुभयो ।
उहाँले लेबर नेता स्टार्मरको प्रशंसा गर्दै उहाँ शालीन सार्वजनिक छवियुक्त व्यक्ति भएको र आफूले उहाँको सम्मान गर्ने गरेको बताउनुभयो।
सुनकले आफू कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट पनि हट्ने घोषणा गर्नुभएको छ। तर त्यसका लागि केही समय लाग्ने छ। आफ्नो उत्तराधिकारी चयन गर्ने व्यवस्था भएपछि उनले राजीनामा दिने छन्।
संसद्मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन्।
नवनिर्वाचित संसद्को पहिलो बैठक जुलाई ९ मा बस्ने छ।
बीबीसीको प्रक्षेपणमा यसपालि ६० प्रतिशतजति मात्रै मत खसेको देखिएको छ।
त्यसमध्ये लेबर पार्टीले ३५ प्रतिशतजति, प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले २४ प्रतिशतजति अनि रिफर्म यूके पार्टीले १५ प्रतिशतजति मत पाएको देखिन्छ।
अहिलेसम्मको निर्वाचनमा यसपालि कन्जर्भेटिभ पार्टीले पाएको मत सबैभन्दा कम हो।
बिहीवार भएको मतदानमा ‘एक्जिट पोल’ भनिने सर्वेक्षणहरूले स्टार्मरको लेबर पार्टीले फराकिलो जित हात पार्ने देखाएका थिए। एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ।
प्रधानमन्त्री सर किअर स्टार्मरको परिचय
कानुनी पृष्ठभूमिका सर किअर स्टार्मर सन् २०१५ मा मात्रै यूकेको सांसद बन्नुभएको हो ।
उहाँ संसदीय निर्वाचनमा लन्डनको होल्बर्न एन्ड सेन्ट प्यान्क्रस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
लेबर पार्टीमा ुछाया गृहमन्त्रीुको जिम्मेवारी पाउनुभएका स्टार्मरलाई सन् २०१९ मा जेरमी कोर्बिनको स्थानमा पार्टी नेताको जिम्मेवारी दिइएको थियो।
लेबरलाई दोस्रो विश्वयुद्धपछि दोस्रो धेरै मत
बीबीसी, आईटीभी न्यूज र स्काई न्यूजले गरेका एक्जिट पोलहरूमा दोस्रो विश्वयुद्धपछि लेबर पार्टीले सबैभन्दा दोस्रो धेरै सीट जित्ने देखिएको थियो।
सन् १९९७ मा टोनी ब्लेअरले निकै फराकिलो जित हासिल गरेका थिए।
होबेन एन्ड सेन्ट प्यान्क्रसबाट निर्वाचित भए पछि स्टार्मरले “परिवर्तनको आरम्भ भएको” र आफूहरूले “काम गरेर देखाउने समय आएको” प्रतिक्रिया दिनुभएको छ ।
स्टार्मरले सामाजिक सञ्जाल एक्समा आफ्नो पार्टीलाई विश्वास गरेर मत दिएकोमा मतदाताहरूलाई धन्यवाद दिनुभएको छ।
रक्षामन्त्री र पूर्वप्रधानमन्त्री पनि पराजित
प्रधानमन्त्री सुनकको कन्जर्भेटिभ पार्टीका कतिपय शीर्ष नेताहरूले समेत निर्वाचनमा पराजय बेहोरेका छन्।
पूर्वप्रधानमन्त्री लिज ट्रस ६०० मतले पराजित हुनुभयो। रक्षामन्त्री ग्रान्ट श्याप्स लेबर पार्टीका उम्मेदवारसँग पराजित हुनुभयो।
यद्यपि सुनकको सरकारमा अर्थमन्त्री रहेका जेरमी हन्ट साँघुरो मतातन्तरले विजयी हुनुभयो। यद्यपि मतसर्वेक्षणहरूमा उहाँ पराजित हुने सम्भावना देखिएको थियो।
लेबर पार्टीबाट निलम्बित नेता जेरमी कोर्बिन स्वतन्त्र उम्मेदवार बनेर विजयी बन्नुभयो। उहाँले लेबर उम्मेदवारलाई पराजित गर्नुभयो।
कोर्बिन सन् १९८३ देखि इस्लिङ्टन नोर्थ निर्वाचन क्षेत्रबाट उठ्दै आउनुभएको छ।
यहुदीविरोधी भावनाबारे टिप्पणी गरेपछि उहाँ लेबर पार्टीको कारबाहीमा पर्नुभएको थियो।


















