Prakash Adhikari July 27, 2024

काठमाडौं, १२ श्रावण । काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार भएको सौर्य एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका सबै नेपाली नागरिका परिवारका सदस्यहरूले मृतकको शव बुझेका छन्।

एक जना यमनी नागरिक आरेफ रेडाको मात्रै शव बुझ्न बाँकी रहेको काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले बताउनुभएको छ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले पनि एक जना विदेशीको बाहेक सबै मृतकको शव आफन्तले बुझेको जानकारी दिनुभयो।

डा चौधरीका अनुसार धेरै जनाको मृत्यु एकै पटक हुने खालका दुर्घटनामा मृतकको पहिचानमा धेरै समय लाग्ने हुनाले शव हस्तान्तरणमा समय लाग्न सक्छ।

अन्य शारीरिक चिह्नहरूबाट मृतकको पहिचान हुन नसकेकामा शव पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने र त्यसका लागि दुई हप्तासम्म लाग्न सक्ने उहाँले बताउनुभयो ।

तर बुधवारको विमान दुर्घटनामा परेका कसैको पनि डीएनए परीक्षण गर्नुपर्ने नदेखिएपछि अधिकांश शव हस्तान्तरण शनिवारसम्म सकियो।

Share Now