Prakash Adhikari June 8, 2018

 

काठमाडौं,२५ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको धितोपत्र बजार अपेक्षित रुपमा विकास र विस्तार हुन नसकेको गुनासो गरेका छन् । बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नरले भारतको भन्दा नेपालको धितोपत्र बोर्डको इतिहास पुरानो भएपनि विकासको गतिमा पछाडि परेको उल्लेख गरे ।

गर्भनर नेपालले बजार विस्तार हुन नसकेको तर्फ इंगित गर्दै नेपालको धितोपत्र बजार भारतको भन्दा एक बर्ष जेठो भएर पनि पुड्को रहेको बताए । पूँजीबजार विकासको हिसाबले हेर्दा नेपाली पूँजी बजार पहिले सुरु भए पनि अपेक्षित विकास गर्न नसकिएको उनको भनाई थियो ।

भारतको पूँजी बजारमा आर्थिक रुपमा स्थापित लगानीकर्ता र एनआरआईहरुको लगानी भएकाले गर्दा विश्वकै पाँच ठूला पूँजी बजारमा पुगेको बताए । नेपालको पूँजी बजार जुन रुपमा आधुनिकिकरण हुनपर्ने हो त्यो रुपमा हुन नसकेकाले पूँजी बजारमा नयाँ तथा ठूला लगानीकर्ता भित्रीन नसकेकोमा चिन्ता व्यक्त गरे ।

पछिल्ला दिनमा नीतिगत हिसाबले बजारको विकास केही रफ्तारमा अगाडि बढेपनि पूँजी बजारकाे दुई प्रतिशत लगानी पनि बण्ड मार्केटबाट भित्रन नसकेको उल्लेख गरे । बण्ड मार्केटको विकास नगरि पूँजी बजारको विकास नहुने भन्दै यो बजारलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।

उनले नेप्से तथा धितोपत्र बोर्ड लगायत नियमनकारी निकायले शेयर किनौं किनौं भन्ने अवस्था सिर्जना गर्न नसकेको उल्लेख गर्दे नेप्से सिंहदरबारको पुल मुनि होइन न्यूरोडमा आउनु पर्ने बताए ।

साथै, उनले भने पूँजी बजार नियामक निकायमा पर्याप्त कर्मचारी नभएको र आफ्नै व्यवस्थित कार्यालय नहुनाले पनि समस्या रहेको बताए ।

Share Now

Leave a comment.