-अशोक दाहाल । बीबीसी न्यूज नेपाली
काठमाडौं, १७ श्रावण । संयुक्त अरब इमिरेट्स (यूएई)मा समस्यामा परेका नेपाली कामदारहरूलाई रोजगारीका लागि पठाउने केही म्यानपावर एजेन्सीहरूको कारोबार रोक्का गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
कामदारहरू समस्यामा परेको, तलब नपाएको र मागपत्रमा उल्लेख भएअनुसारको काम नलगाएकोलगायतका उजुरी परेपछि सम्बन्धित म्यानपावरको कारोबार रोक्का गरिएको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताउनुभयो।
संयुक्त अरब इमिरेट्सका विभिन्न ठाउँमा कामका लागि गएका करिब ९० जना नेपाली कामदारहरू समस्यामा परेको विवरणको उजुरी विभागमा परेको थियो।
नेपाली कामदारहरूलाई परेको समस्याबारे आबुधावीस्थित नेपाली दूतावासमा पनि गुनासो पुगेपछि दूतावासले स्थलगत अनुगमन गरेको थियो।
दूतावासको अनुगमनमा के देखियो?
नेपाली कामदारहरूलाई बन्धक बनाइएको चर्चा सुनिए पनि आफ्नो अनुगमनमा उनीहरू बन्धक अवस्थामा भने नपाइएको आबूधाबीस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका श्रम मामिला हेर्ने काउन्सिलर दिनबन्धु सुवेदीले कामदारहरूको अवस्था बुझ्न दूतावासका कर्मचारीले उनीहरूलाई राखिएका शिविरसम्म पुगेर अनुगमन गरेको बताउनुभयो।
“उहाँहरू बाहिर भनिएकोजस्तो बन्धक अवस्थामा रहेको चाहिँ हाम्रो अनुगमनमा देखिएन। तर प्रतिबद्धताभन्दा फरक र जटिल काममा लगाइएका कारण समस्या सुरु भएको एक महिनाभन्दा बढी भएको रहेछ। हामी तीन ठाउँ अनुगमनमा जाँदा उहाँहरूलाई रोजगारदाताले क्याम्पमा राखिएको पाइयो,” सुवेदीले टेलिफोनमा भन्नुभयो।
सुवेदीका अनुसार कामदारहरूको समस्या समाधानका लागि उनीहरूलाई यूएई पठाउने म्यानपावर एजेन्सीका प्रतिनिधिलाई दूवातासले यूएईमै बोलाएको छ।
“हामीले रोजगारदाता, म्यानपावर र श्रमिकहरू तीनै पक्षलाई राखेर बिहीवार छलफल गर्दै छौँ,” उहाँले भन्नुभयो।
वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर एजेन्सीहरूलाई कामदारहरूलाई यूएईमै अर्को काममा लगाउन वा स्वदेश फर्कने व्यवस्था गर्न निर्देशन दिइएको छ।
मानवअधिकार आयोगको चासो
राष्ट्रिय मानवअधिकार आयोगले पनि समस्यामा परेका कामदारहरूको अवस्थाबारे चासो राख्दै वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको छ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले यूएईमा कामदार अलपत्र परेको विषयमा आयोगमा पनि उजुरी आएको बताउनुभयो।
“विभाग र कामदार पठाउन संलग्न नयाँ बनेश्वरको ओशो म्यानपावर एजेन्सीलाई तीन दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन पत्राचार गरिएको छ,” आयोगका प्रवक्ता पोखरेलले दिएको लिखित जानकारीमा उल्लेख छ।
आयोगका प्रवक्ता पोखरेलले अलपत्र कामदारहरूलाई फर्कने व्यवस्था सुरु भएको जानकारी दिनुभयो।
कामदारहरू समस्यामा परे के गर्ने ?
वैदेशिक रोजगार विभागका प्रवक्ता सुवेदीले समस्यामा परेका कामदारहरूका लागि चौबीसै घण्टा सञ्चालन हुने कल सेन्टर विभागमा राखिएको बताउनुभयो।
उहाँका अनुसार समस्यामा परेका वा ठगिएको महसुस गरेका कामदार वा उनीहरूका आफन्तले विभागको निःशुल्क टेलिफोन नम्बर ११४१ मा फोन गरेर आफ्नो गुनासोबारे जानकारी गराउन सक्छन्। विभागले आफ्नो वेबसाइटमा गुनासो र उजुरीका लागि थप माध्यमहरूबारे जानकारी दिइएको जनाएको छ।
सुवेदीका अनुसार विभागको इमेल complaint@dofe.gov.np र ह्वाट्स्याप तथा भाइबर नम्बर ं९७७९८५१३४७२२२ मा पनि उजुरी वा गुनासोबारे कामदार वा उनीहरूका आफन्तले जानकारी दिन सक्छन्।
“विभागबाहेक हरेक देश हेर्ने दूतावासमा श्रम काउन्सिलर र श्रम सहचारीहरू पनि राखिएका छन्। दूतावासमा सम्पर्क गरेर उनीहरूमार्फत् पनि उजुरी वा गुनासो टिपाउन सकिन्छ,” सुवेदीले भन्नुभयो।
विभागले उजुरी परेपछि कामदार र रोजगारदाताबीच भएको श्रम सम्झौतालगायतका विवरण हेरेर समस्या समाधानका लागि पहल लिने गरेको उहाँले बताउनुभयो।
“कामदारको समस्या समाधान नगर्ने म्यानपावर कम्पनीहरूलाई हामीले कारबाही गर्छौँ,” उनले भने। कतिपय देशमा अलपत्र परेका कामदारहरूको समयमै उद्धार हुन नसकेका गुनासोहरू पनि आउने गरेका छन्।
यूएई नेपालको पुरानोमध्येको श्रम गन्तव्य हो। पछिल्ला वर्षहरूमा अरब देशहरूका साथै नेपालीहरू रोजगारीका लागि युरोपका विभिन्न देश, क्यानडा, अस्ट्रेलिया तथा न्यूजील्यान्डतिर पनि जान सुरु गरेका छन्।
नेपालबाट विभिन्न १ सय ११ देशमा संस्थागत रूपमा कामदार जाने गरेको तथ्याङ्क छ। तर धेरै देशसँग द्विपक्षीय श्रम सम्झौता नभएका कारण नेपालीहरू श्रमिकले पाउने कतिपय हक र अधिकारबाट वञ्चित हुँदै आएको विज्ञहरू बताउँछन्।
व्यक्तिगत रूपमा हाल नेपालीहरू विश्वका १ सय ७८ मुलुकमा कामका लागि जाने गरेको सरकारी तथ्याङ्क छ।


















