काठमाडौँ।२६ जेठ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौँको विभिन्न स्थानमा निकालेको राँके जुलुसमा भएको प्रहरी हस्तक्षेपमा विद्यार्थीहरु घाइते भएका छन् ।
मशाल जुलुस रोक्न बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । तर प्रहरीको अवरोधलाई छिचोल्दै नेविसंघले राँके जुलुस निकाल्यो ।
उपत्यकाको जमल, बागबजार ,मैतिदेबीबाट राँकेजुलुस निकालिएको नेबिसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।
मसाल जुलुस निकाल्ने क्रममा प्रहरीको हस्तक्षेपबाट नेविसंघका टिका भण्डारी र सञ्जिव ढकाल घाइते भएका छन्।
घाइते विद्यार्थीहरुको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य शैलेन्द्र गौडेलले जानकारी दिए।
केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पछिल्लोपटक नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य ३-३ रुपैयाँ वृद्धि गरेकोे थियो ।
हाल पेट्रोलको मूल्य ११३ रुपैयाँ छ। यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ।
पेट्रोलियम पदार्थको मुल्य वृद्धि नहटाएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए । नेविसंघले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेको काफ्लेले बताए।
विद्यार्थी नेता भट्टका अनुसार देशका अन्य भागमा पनि स्वतस्फूर्त मसाल जुलुस निस्किएको छ।



















