Prakash Adhikari August 30, 2024

 

काठमाडौं, १४ भाद्र। नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमिति बैठकले देशका सातै प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ ।

क्यानको विहीबार बसेको बैठकले हरेक प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । क्यानले बजेट उपलब्ध गराउने भएपनि प्रदेश संघहरुले नै खेलाडीसँग सम्झौता गर्ने छन् ।

क्यानको हिजोको बैठकले विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ तथा अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

यस्तै, क्यानले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान लेख बहादुर क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्ताजा हलुवारी रहेको राष्ट्रिय छनोट समितिको निमार्ण गरेको छ । यसका लागि क्यानले केही समय अगाडि आवेदन मागेको थियो ।

क्यानको बैठकले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा ८ टोलीलाई सहभागी गराउने निर्णय पनि गरेको छ । पहिलो संस्करणको लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । लिगमा रहने टोलीको नाम टोली मालिकको नाम भने सार्वजनिक भएको छैन ।

क्यानले केही समय पहिलो टोली प्रायोजन गर्न चाहने संस्थाहरुको चयनको लागि सार्वजनिक रुपमा आवेदन माग गरेको थियो । जसमा १६ संस्थाले आवेदन दिएका थिए ।‌

वाई वाई राष्ट्रिय यु १९ प्रतियोगिता

क्यानले वाई वाई राष्ट्रिय यु १९ प्रतियोगिता सेप्टेम्बर अक्टोबरमा कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान)को बिहीवार बसेको बैठकले प्रतियोगिता कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको हो ।

डिसेम्बरको पहिलो साता बंगलादेशमा हुने यु १९ एसिया कप तथा अप्रिलमा नेपालमा नै आयोजना हुने यु १९ विश्वकपको एसियाली छनोटका प्रतियोगिताको तयारी स्वरुप यस प्रतियोगिता रहेको छ ।

प्रतियोगितामा ७ प्रदेशको टोलीको सहभागिता रहने छ । प्रतियोगिताका खेलहरु ५० ओभरका हुनेछन् ।

यस्तै, क्यानले पहिलो पटक आयोजना गर्न लागेको एलिट कप अक्टोबरमा जनकपुर र विरगंजमा आयोजना हुने भएको छ ।

एलिट कपमा यसै वर्ष सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष पुगेका चार टोली (त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, बागमती प्रदेश र मधेश प्रदेश)को बीचमा हुनेछ ।

आदिलको कारबाहीमा आइसीसीको निर्देशन पर्खिने

म्याच फिक्सिङ मुद्दामा अदालतबाट सफाइ पाएका क्रिकेटर आदिल आलमको फुकुवाका लागि नेपाल क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को निर्देशन कुर्ने भएको छ ।

क्यानको बिहीवार बसेको बोर्ड बैठकले संघको अनुशासन समितिले दिएको प्रतिवेदन क्यानको इन्टिग्रिटी समितिका संयोजकमार्फत आइसीसीको एन्टी करप्सन युनिटमा पठाई त्यहाँबाट प्राप्त निर्देशन अनुसार प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

गत वर्ष पुषमा सम्पन्न नेपाल टी २० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिललाई नेपाली राष्ट्रिय टोली र घरेलु क्रिकेटबाट निलम्बनमा गरिएको थियो । आरोप लागेपछि प्रहरीद्वारा पक्राउ परेका उनीसँगै पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर महबुब आलम र नितेश गुप्ता ३ लाख धरौटीमा रिहा भएका थिए ।

गत चैतमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले सोमबार आरोपमा दाबी नपुग्ने भन्दै आदिलसहित सबै जनालाई स्पट फिक्सिङको आरोपबाट सफाइ दिएको थियो ।

संघले आफ्नो बार्षिक साधारण सभा आगामी असोज ११ देखि १२ सम्म पोखरामा गर्ने निर्णय पनि गरेको छ ।

ImageImage

 

Share Now