Prakash Adhikari September 10, 2024

 

काठमाडौं, २६ भाद्र । क्यानडामा आयोजना हुने आईसीसी विश्वकप लिग २ अन्तर्गतको छनोट चरणको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) नेपाली राष्ट्रिय टोलीका कप्तानरोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन् ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा क्यानडा, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ गते क्यानडासंग र अन्तिम तथा चौथो खेल असोज ८ गते ओमानविरुद्ध रहेको छ ।

क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सन्जालमार्फत ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टी २० आई सिरिज हुने बताएको थियो । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

टी २० आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

टी २० सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज खेल्ने कार्यक्रम क्यानको बार्षिक क्यालेन्डरमा परेको छ। त्यसपछि लिग २ को अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

 

Share Now