Prakash Adhikari September 13, 2024

 

मस्को(रुस), २८ भाद्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पश्चिमा देशहरूलाई चेतावनी दिनुभएको छ। ती देशले युक्रेनलाई क्षेप्यास्त्र उपलब्ध गराएका छन्।

पुटिनका अनुसार रुसविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए द्वन्द्वको आधारभूत पक्षमा परिवर्तन आउने छ र नेटोले रुससँग युद्ध गरेको अर्थ लाग्ने छ।

रुसी सरकारी टेलिभिजनले उहाँको धारणा प्रसारण गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे शुक्रवार ब्रिटेनका प्रधानमन्त्री किअर स्टार्मरसँग ह्वाइटहाउसमा छलफल गर्ने अपेक्षा गरिएको छ। स्टार्मर अहिले अमेरिका भ्रमणमा हुनुहुन्छ।

युक्रेनी नेता भोलोदोमिर जेलेन्स्कीले पश्चिमा साझेदारहरूलाई सीमापारि रहेका निसानाहरूमा हमला गर्न उनीहरूले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आउनुभएको छ।

पुटिनको चेतावनी

पुटिनका अनुसार पश्चिमा देशमा निर्मित लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गर्नु भनेको युक्रेन युद्धमा नेटो देशहरू ( संयुक्त राज्य अमेरिका र युरोपेली देशहरू ) सहभागी भएको अर्थ लाग्ने छ।

“त्यसो गर्दा उनीहरूको प्रत्यक्ष सहभागिता हुन्छ। अनि वास्तवमै त्यसले यो द्वन्द्वको चरित्र र आधारभूत पक्षमा उल्लेखनीय परिवर्तन निम्त्याउँछ।”

“त्यस्तो परिस्थितिमा आफूसामु सिर्जित जोखिमलाई ध्यान दिएर हामी तदनुरूप निर्णय लिने छौँ।”

पुटिनले युक्रेनी सेनासँग अत्याधुनिक, उच्च क्षमता र लामो दूरीका अस्त्र प्रयोग गर्न सक्ने सामर्थ्य नरहेको दाबी पनि गर्नुभएको छ।

“त्यो युक्रेनसँग नभएका भूउपग्रहहरूबाट प्राप्त हुने निगरानीका डेटाबाट मात्रै सम्भव हुन्छ। युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका र नेटोका भूउपग्रहबाट मात्रै ती उपलब्ध हुन्छन्।”

पुटिनले नेटोका सदस्यराष्ट्रका सुरक्षा निकायहरू मात्रै ती क्षेप्यास्त्र प्रणालीको ुफ्लाइट मिशन’सम्बन्धी निर्णय लिन सक्षम रहेको र यो विषय रुसमाथि क्षेप्यास्त्र प्रहार गर्ने अनुमतिमा मात्र सीमित नभएको दाबी गर्नुभयो।

“यो नेटो देशहरू सैन्य द्वन्द्वमा प्रत्यक्ष ढङ्गले सहभागी हुने निर्णय लिन्छन् कि लिँदैनन् भन्ने विषय पनि हो।”

ब्रिटेनका प्रधानमन्त्रीको भनाई

ब्रिटेनका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेट हुनुअघि पुटिनले क्षेप्यास्त्रको विषयमा बोल्नुभएको हो।

किअर स्टार्मरले भन्नुभयो, “रुसले यो लडाइँ सुरु गरेको हो। रुसले गैरकानुनी ढङ्गले युक्रेनमाथि आक्रमण गर्‍यो। रुसले तत्कालै यसलाई अन्त्य गर्न सक्छ।” उहाँले रुसले द्वन्द्व निम्त्याएको र अहिले पनि गैरकानुनी काम गरेको बताउनुभयो ।

रुसलाई सहयोग गर्न इरान अघि सरेपछि प्रधानमन्त्री स्टार्मर र विदेशमन्त्री डेभिड ल्यामीसहित युक्रेनका साझेदारहरू कस्तो प्रतिक्रिया जनाउने भन्नेबारे कूटनीतिक छलफलमा हुनुहुन्छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनसँग किएभको भ्रमण गरेका ल्यामीले उक्त कदमले ‘बहसलाई स्पष्ट ढङ्गले फेरिदिएको’ बताउनुभयो।

वाशिङ्टनबाट आइतबार फर्किएपछि ब्रिटेनका प्रधानमन्त्री इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनीसँग भेटवार्ता गर्न रोम जानुहुने छ। हाल इटलीले औद्योगिक राष्ट्रहरूको समूह जी सेभनको अध्यक्षता गरिरहेको छ।

त्यसको एक सातापछि संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभामा भाग लिन विश्वनेताहरू न्यूयोर्कमा भेला हुनुहुने छ।

युक्रेनलाई पश्चिमा देशमा निर्मित क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्ने अनुमति दिने विषयमा लामो समयदेखि सङ्कोच देखिँदै आएको थियो। त्यस्तो निर्णयबाट रुस उत्तेजित हुन सक्ने र अमेरिका र युरोपेली देशहरू पनि सोझै लडाइँमा तानिन सक्ने भय थियो।

तर जाडोयाम सुरु हुन लाग्दा र रुसले इरानबाट थप सहयोग लिन खोजेपछि उक्त विचारमा परिवर्तन आउन लागेको जस्तो देखिन्छ।

प्रधानमन्त्री स्टार्मरलाई ‘स्टोर्म श्याडो’ नामक क्रूज क्षेप्यास्त्र प्रयोग गर्न दिने सम्भावनाबारे पनि प्रश्न गरिएको थियो।

उक्त कुरा छलफलको विषयवस्तु भएको अस्वीकार नगरी उहाँले भन्नुभयो, “आगामी केही साता र महिनाहरूमा युक्रेन र मध्यपूर्व दुवैतर्फ कैयौँ महत्त्वपूर्ण घटना हुन सक्ने सम्भावना छ। त्यही भएर विभिन्न रणनीतिक निर्णयहरू लिनुपर्ने हुन्छ।”

Share Now