टोरोन्टो(क्यानडा), २८ भाद्र । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा स्थानीय टोली एचपी जागुवार्सलाई पराजित गरेको छ ।
टोरोन्टोमा भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जागुवार्सलाई ६६ रनले पराजित गरेको हो ।
२ सय ४८ रनको लक्ष्य पछ्याएको जागुवार्स ३९ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । जागुवार्सका लागि अजयविर सिंहले सर्वाधिक ५५ रन जोड्दा नदिम मन्जराले २९ रन जोडेका थिए ।
खेलमा नेपालका लागि ललितनारायण राजवंशीले ४, सन्दीप लामिछानेले ३ तथा करण केसी र कुशल मल्लले समान १ । १ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४७.५ ओभरमा २ सय ४७ रनमा अल आउट भएको थियो । नेपालका लागि अनिल कुमार शाहले अविजित रहँदै सर्वाधिक ४७ तथा कुशल भुर्तेलले ४१ रन जोडेका थिए ।
खेलमा कप्तान रोहितकुमार पौडेलले ३३, भीम सार्कीले २१, गुलसन झा र आशिफ शेखले समान १९ तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाएका थिए ।
जागुवार्सका लागि जसकरन बुटर, इरफन सोदात र शिल पटेलले समान २।२ तथा जाहिद सिरजाद, सुकजिन्दर सिंह र शिभम् शर्माले समान १ । १ विकेट लिएका थिए ।
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडीआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।
त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ ।
तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टी २० आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।
टी २०आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।
टी २० सिरिज पछि क्यानडासँग नेपालले ओडीआई सिरिज खेल्ने क्यानद्वारा जारी बार्षिक क्यालेन्डरमा छ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ ।