माले(माल्दिभ्स), ४ असोज । माल्दिभ्सको राजधानी मालेमा भैरहेको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लब लिग चरणमा अपराजित रहँदै उच्च मनोबलका साथ फाइनल पुगेको छ ।
लिगको एक खेल अगावै फाइनलमा स्थान बनाएको पुलिस क्लबले अन्तिम खेल पनि जितेर ५ खेलमा १४ अंक जोडेको छ । शुक्रवार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३-१ को सेटमा हराएको हो ।
पहिलो र दोस्रो सेट पुलिसले आफ्नो पक्षमा पारेको थियो । पुलिसले पहिलो सेट २५-१२ ले जित्दा दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्यो।
तेस्रो सेट घरेलु टोलीले २१-२५ ले जित हात पार्यो । चौथो सेट २५-२१ ले आफ्नो बनाउँदै पुलिसले अपराजित यात्रा कायमै राख्यो । पुलिसले चौथो खेलमा आएर सेट हारेको थियो।
पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स, तेस्रो खेलमा ताजकिस्तानको डाइमेडलाई ३-० को सेटमा पराजित गरेको थियो । चौथो खेलमा माल्दिभ्सको वान्को भलिबल क्लबलाई समान ३-२ को सेटले पराजित गरेको थियो ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । पुलिस क्लबले शनिवार फाइनल खेल्नेछ ।