Prakash Adhikari June 15, 2018

जनकपुरधाम(धनुषा),१ असार । प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि कूल २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

जस मध्ये कूल विनियोजित बजेट मध्ये चालु तर्फ १४ अर्ब ४७ करोड ५६ लाख १४ हजार अर्थात ४८।६० प्रतिशत र पुँजीगत तर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार अर्थात ५१।४० प्रतिशत बजेट विनियोजन गरेको छ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च मध्ये राजश्वबाट १० अर्ब ४८ करोड ९७ लाख ३८ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समिकरण अनुदानबाट सात अर्ब ७१ करोड ६१ लाख र सशर्त अनुदानबाट नौ अर्ब १८ करोड ११ लाख गरी जम्मा १८ अर्ब २० करोड ५८ लाख ३८ हजार विनियोजन गरिएको छ।

त्यसैगरी विशेष अनुदानबाट एक अर्ब र समपुरक अनुदानबाट ४० करोड गरी कूल २८ अर्ब ७८ करोड ६९ लाख ३८ हजार बजेट प्रस्तुत गरिएको छ। जसमा एक अर्ब खुद न्युन हुन जाने व्यहोरा उल्लेख गरिएको छ।

प्रदेश २ को सरकारले सुशासन, भौतिक पूर्वाधार निर्माण तथा समाजिक विकास, नीतिगत कानुन एवं संरचनागत प्रबन्ध, सार्वजनिक सेवा प्रवाहमा सुधार र सार्वजनिक खर्चमा वित्तिय अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेको छ।

बालबालिकाको हित संरक्षण एवं महिला सशक्तिकरण तथा क्षमता विकास, उद्यमशिलताको विकास र रोजगारी सृजना, प्रदेशको मौलिकता, ऐतिहासिकता तथा सांस्कृतिक धरोहरहरूको संरक्षण सम्वद्धन र प्रवर्द्धन, सरसफाइ एवं वातावरणी स्वच्छता अभिवृद्धि र संघ र स्थानीय तहसँग सौहार्दपूर्ण सम्बन्धको विकास तथा सहकारितामा जोड दिएको छ।

यस अन्तर्गत प्रत्येक गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकालाई क्रमशः ५० लाख, एक करोड र दुर्इ करोड सशर्त अनुदान अन्तर्गत जम्मा एक अर्ब ५० करोड बजेटको व्यवस्था गरेको छ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ५० लाखको दरले ३२ करोड विनियोजन गरिएको छ भने, जनआवश्यकता अनुसारको आयोजना छनौट गरी कार्यान्वयनका लागि २५ लाखको दरले २६ करोड ७५ लाख रकम विनियोजन गरी कार्यक्रम कार्यान्वयनका लागि ५८ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रदेश शासन व्यवस्था अन्तर्गत “आपके सरकार आपके द्वार” अभियानलाई आल्पकालिन, दीर्घकालिन योजना बनाई प्राथमिकता दिँदै मुख्यमन्त्रीद्वारा सञ्चालित “बेटी पढाउ बेटी बचाउ अभियान” अन्तर्गत २० करोड ९२ लाख बजेट विनियोजन गरिएको छ।

यसैगरी एकघर एक शौचालय कार्यान्वयन गरी सडक, नगर, ग्राम, पोखरी, मन्दिर, नदीलाई हरित बनाउदै मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत २१ करोड ६१ लाख विनियोजन गरिएको छ।

यसैगरी मुख्मन्त्री राहत तथा पुनःस्थापना कोषमा १५ करोड तथा आर्थिक मामिला तथा कानून मन्त्रालय मातहत रहेको प्राकृतिक विपद् व्यवस्थापन कोषमा ४ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

भौतिक पुर्वाधार विकास प्रदेशमा सडक सञ्जाल विस्तारका लागि एक अर्ब २६ करोड, “हर खेतमे पानी हरहातमे काम” भन्ने नारालाई सार्थक तुल्याउन साझ सिँचाइ प्रणाली, नारायणी सिँचाइ प्रणालीलगायतका सिँचाइ क्षेत्रका लागि ५२ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेशलाई ऊर्जामा आत्मनिर्भर बनाउन ऊर्जा क्षेत्र विकासका लागि ८ करोड २० लाख, बाढी व्यवस्थापन र वस्ती व्यवस्थापन कार्यक्रमको लागि ३ करोड, नदी नियन्त्रण र आपत्तकालीन तथा बाढी पुनःस्थापनाका लागि ३६ करोड १८ लाख, पर्सा, बारा, धनुषा, सिरहा लगायतको जिल्लामा सेटेलाईट सिटीको सम्भाव्यता अध्ययन तथा सुरुआतीका लागि २ करोड ८५ लाख विनियोजन गरिएको छ।

सामाजिक विकास सप्तरी स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, जनकपुर अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताललाई आवश्यक उपकरण सहित सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्न ३० करोड, सप्तरीको रुपनीमा प्रहरी अस्पताललाई प्रदेश ट्रमा सेन्टरको रूपमा विकास गर्न एक करोड, औँलो रोगबाट बच्न सुपानेट झुल वितरणका लागि ५ करोड विनियोजन गरिएको छ।

यसैगरी जनकपुरधामको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार विकास तथा क्षमता अभिबृद्धिका लागि एक करोड रकम दलित विद्यार्थीलाई अध्ययनमा सहयोगी हिसावले प्रत्येक जिल्लामा दलित छात्रावास निर्माणका लागि ८ करोड, खेलकुद क्षेत्रको समग्र विकासका लागि “खेलेगा मधेश, खिलेगा मधेश” अभियान अन्तर्गत ९ करोड ७४ लाख रकम विनियोजन गरिएको छ।

भूमि व्यवस्थापन, कृषि तथा सहकारी किसानहरूको उपजको सही मुल्य निर्धारण तथा व्यवस्थापनको सहजताका लागि ८ वटै जिल्लामा कोल्ड स्टोर निर्माणका लागि १६ करोड, कृषकलाई मेशनरी औजार, कृषि सामग्री, विउविजन, चुरे क्षेत्र ईनार निर्माणका लागि एक अर्ब ४४ करोड, कृषि ज्ञान केन्द्रको पूर्वाधार निर्माणको लागि तीन करोड ५० लाख विनियोजन गरिएको छ।

उद्योग पर्यटन, वन तथा वातावरण कुटिर उद्योग विकासका लागि चार करोड, वन वैज्ञानिक कार्यक्रम सञ्चालन गर्न १७ करोड ६० लाख, मध्य मिथिला परिक्रमा स्थलहरूमा रामजानकी डोला विसौनी घर निर्माणका लागि एक करोड २० लाख, नारायण डाडा, सर्लाहीमा टेलिस्कोप सहितको भ्यू टावर निर्माण गर्न एक करोड, सिरहामा तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारी प्रवशेद्वारा निर्माणका लागि एक करोड र पर्यापर्यटन विकास तथा होमस्टे पूर्वाधार विकासका लागि एक करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

Share Now

Leave a comment.