
काठमाडौं, १३ असोज। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्का बेला हातेमालो गरेर उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँले आफू अमेरिकाका सबै कार्यक्रम सम्पन्न गरेर फर्किने तयारीमा रहेको पनि जानकारी दिनुभएको छ ।
असोज ४ गते अमेरिका प्रस्थान गर्नुभएका उहाँ १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो ।
उहाँले बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी साथीहरु कार्य क्षेत्रमा खटिरहनु भएको उल्लेख पनि गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, “विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको छ। तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौं र उहाँहरुलाई सबैले सहयोग गरौं। बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्याउन मद्दत गरौं। वर्षाले क्षति पुर्याउन सुरु गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल लगायतसँग उद्धारका विषयमा समन्वय गरिएको थियो। सोही योजना अनुसार सरकारले देशैभर हजारौं उद्धारकर्मी तैनाथ गरेको छ। मौसमविद्सँग केहीबेर अघि बुझे अनुसार वर्षा पूर्ण रूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने छ।”
बाढीपहिरोको विपत्तिमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ, “संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु। विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गरौं।”
राष्ट्रसंघको महासभालाई ओलीले असोज १० गते सम्बोधन गर्नुभएको थियो । त्यसअघि र पछि उहाँले विभिन्न सेसनमा भएका छलफलमा भाग लिनुका साथै साइडलाइन भेटवार्ता पनि गर्नुभएको थियो ।उहाँले कोलम्बिया विश्वविद्यालय र हार्वार्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई पनि संबोधन गर्नुभएको थियो ।
अविरल वर्षासँगै शुक्रबार र शनिबारको बाढी, पहिरो र डुबानले १०० जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामै ४८ जनाको मृत्यु भएको छ ।