Prakash Adhikari September 30, 2024

 

ओन्टारियो(क्यानडा), १४ असोज । क्यानडामा जारी त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाल लय फर्किएको छ । आइतबार(नेपाली समय अनुसार सोमबार बिहान) सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको छ ।

क्यानाडाको ओन्टारियोस्थित किंगसिटी खेल मैदानमा भएको श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिड. गरेको नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरको खेल पूरा गर्न सकेन । ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदा अल आउट भयो ।

ओमानका लागि सोयब खानले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४५ तथा रफिउल्लाहले १२ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३३ रन जोडे । प्रतिक अथाभालेले १४ बलमा १५, खालिद कैलले ११ रन जोडे ।

खेलमा नेपालका लागि करन केसीले ३, कुशल भुर्तेल र गुलशन झाले समान २ ।२ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले समान १ । १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल बनाएको थियो ।

खेलमा खेलमा नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । उनले १७ बलमा ३ चौका र ३ छक्काका मद्दतले ४० रन जोडेका थिए । खेलमा कुशल मल्लले ३० रनको योगदान गरे भने ओपनर अनिल साह र आशिफ शेखले समान २७ । २७ रनको योगदान दिए । कुशल भूर्तेलले २० रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । कप्तान रोहित पौडेल र देव खनाल २ । २ रनमा आउट भए ।

नेपाललाई रोक्ने क्रममा ओमानका अकिव ऐयासले ३ , जिसन मकसूद, फायज बट र सकिल अहमदले एक एक विकेट लिए ।

क्यानडा टी २० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो ।

नेपालले तेस्रो खेलमा मंगलवार क्यानडासँग र चौथो खेलमा बुधवार ओमानसंग खेल्ने छ ।

 

Share Now