काठमाडौं, १८ असोज । धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्ने समितिका संयोजक प्रा.डा शिवराज अधिकारी अस्वस्थ बनेपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया फेरि रोकिएको छ ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
उपाध्यक्ष डा अधिकारी डेंगु लागेर अस्पताल भर्ना हुनुभएको छ । अब दशैं अघि यो प्रकृया अघि बढ्ने सम्भावना न्यून देखिएको छ ।
बोर्डको अध्यक्ष सिफारिस गर्ने समितिले आवेदकहरुबाट संक्षिप्त सूची तयार गरेर ५ जनालाई प्रस्तुतीकरण र अन्तरवार्ताको लागि छनोट गरेको थियो । संक्षिप्त सूचीमा भएका मध्येबाट तीन जना सिफारिस गरेर अर्थमन्त्रालयमा सिफारिस गर्ने तयारी गरिरहेको बोर्ड पूर्ववर्ती अर्थमन्त्री बर्षामान पुनको असहयोगी रवैयाका कारण अप्ठ्यारोमा परेको थियो ।
सिफारिस समितिले संक्षिप्त सूचीमा भएका ५ जनालाई अन्तरवार्ताको लागि बोलाएकोमा तात्कालीन अर्थमन्त्री पुनको सल्लाहमा अर्थमन्त्रालय अन्तरगतकै नेपाल स्टक एक्सचेञ्जमा प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत कृष्णबहादुर कार्की, धितोपत्र बोर्डमा निर्देशक पदमा कार्यरत डा. नवराज अधिकारी र नेपाल बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवि चापागाईँ अनुपस्थित हुनुभएको थियो ।
सिफारिसमा पर्नुभएका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले भने प्रस्तुतीकरण र अन्तरवार्ता दुवै दिनुभएको थियो । धितोपत्र चयनसम्बन्धि व्यवस्थामा समितिले कम्तिमा तीन जना सिफारिस गर्नुपर्ने प्रावधान भएको तर अर्थमन्त्री पुन स्वयम् सो प्रकृया रद्द गरेर आफूले चाहेको व्यक्ति अध्यक्षमा ल्याउन लालयित भएपछि सिफारिस समितिले प्रस्तुतीकरण र अन्तरवार्ताकालागि पछि बोलाएको मितिमा पनि तीनै जना अनुपस्थित हुनुभयो ।
सिफारिस समितिले आफूलाई सुम्पिएको काम सम्पन्न गर्न व्यवधान उत्पन्न भएको जनाउदै सो प्रक्रिया रद्द गर्न अर्थमन्त्रालयमा सिफारिस गरेको बेला समग्र प्रक्रियामा संलग्न हुनुभएका पूँजीबजारका ज्ञाता सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट हालेर सो प्रक्रिया रद्द नगर्न माग गर्नुभयो । अदालतले निवेदकको माग अनुसार सोही प्रक्रियालाई रद्द नगरी टुंगोमा पुर्याउने अन्तरिम आदेश दियो ।
माओवादी नेतृत्वको सरकार ढलेर एमाले नेतृत्वको कांग्रेस सम्मिलित नयाँ सरकार गठन भएपछि अदालतको आदेश अनुसार योजना आयोगका उपाध्यक्ष पदेन संयोजक रहने सिफारिस समिति सक्रिय भएर अन्तरवार्ता र प्रस्तुतीकरण दिन बाँकी तीन जना प्रत्यासीलाई आज बोलाएको थियो ।आज पनि चापागाई अनुपस्थित रहनुभएको थियो ।