नेपालको आईसीसी विश्वकप लिग २ छनोट चरणको तयारीः नेपालद्धारा अमेरिका सामु १ सय ७१ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, ४ कार्तिक । आईसीसी विश्वकप लिग २ छनोट चरण अन्तरगत त्रिकोणात्मक श्रृखला खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यसकै तयारी स्वरुप आयोजना गरिएको अमेरिकासंगको टी २० श्रृखलाको दोस्रो खेलमा अमेरिकालाई १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अमेरिकाको टेक्सासको ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर ब्याटिड. रोजेको नेपालले २० ओभरको निर्धारित खेलमा १ सय ७० रन जोडेको छ ।
नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ९२ रन जोडे । उनले ६ छक्का र ७ चौकाका मद्दतले लोभलाग्दो रन जोडेका हुन् । आजको खेलमा उनी आफ्नो पुरानो लयमा फर्केका देखिन्छन् । नेपालका लागि अनिल साहले २५, गुल्शन झाले १९,कप्तान रोहित पौडेलले १८, करन के.सी.ले ६,दीपेन्द्रसिंह ऐरीले २ र आरिफ शेखले १ रनको योगदान दिए ।
नेपाललाई रोक्ने क्रममा अमेरिकाका जसदीप सिंह र नस्थस किन्जिगेले २ । २ तथा सौरभ नेत्रभाल्करले १ विकेट लिएका थिए ।
आजको खेल हेर्दा नेपालको अवस्था राम्रै देखिन्छ । नेपाल यो खेल पनि जितेर एक खेल अगावै अमेरिकाको टी २० श्रृखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहेको छ ।
यस अगाडिको टी २० खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै ३ खेलको सिरिजमा १ ० को अग्रता बनाएको छ ।
तेस्रो तथा अन्तिम टी २० सोमवार बिहान रहेको छ । यो टी २० श्रृखालापछि अमेरिका ए सँग नेपालले ५० ओभरको अभ्यास खेल खेल्नेछ ।
कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।