
काठमाडौं, ४ कार्तिक । आईसीसी विश्वकप लिग २ खेलको लागि अमेरिकामा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकासंग खेलेको टी २० श्रृखलाको दोस्रो खेल पनि जितेको छ ।
आज बिहानबाट सुरु भएको खेल निकै रोचक मोडमा पुगेर सुपर ओभरसम्म पुगेको थियो । सुपर ओभरका ४ बलबाट नेपालले कुनै विकेटको क्षति बिना ३ रन जोड्न सक्यो भने अमेरिकाले २ विकेटको क्षतिमा २ रन मात्र जोडेको थियो ।
सुपर ओभरमा नेपालकातर्फबाट सोमपाल कामीले बलिड. गरेका थिए । नेपालका तर्फबाट सुपर ओभरमा कुशल भूर्तेल र कप्तान रोहित पौडेलले ब्याटिड. गरेका थिए । कप्तान रोहितले ३ बलबाट २ रन जोडे भने कुशलले एक बलबाट एक रन जोडे । सोमपालले चार बलको सुपर ओभरमा सायन जहाँगिर र आरोन जोन्सको विकेट लिएका थिए ।
यसपहिले अन्तिम ओभरको चौथो बलमा एन्द्रियस ग्राउसलाई आउट गरेपछि अमेरिका धराशायी भएको थियो । उनैले फालेको अन्तिम ओभरको अन्तिम बलमा एक रन बनाउदै जसदीप सिंह रन आउटमा परेपछि खेल सुपर ओभरमा पुगेको थियो ।
आज नेपालका बलरहरुले सुरुमा विकेट झार्न सकेनन् । परिणाम अमेरिकाले सजिलोसंग रन जोड्न भ्यायो । उसले २० ओभरको निर्धारित खेलमा ८ ओभरको क्षतिमा १ सय ७० रन जोडेर नेपालको बराबरी गरेको थियो । अमेरिकाका लागि सर्वाधिक रन एण्ड्रियस गाउसले बनाए र उनले ३ चौका र ४ छक्काका मद्दतले ६२ रन जोडे । त्यस्तै सैतेजा मुक्कमल्लाले ४७, मिलिन्द कुमारले १५, सायन जहाँगिरले १४, आरोन जोन्स र जसदीप सिंहले ७ । ७, मोनाक पटेलले ६, हरमित सिंहले २ र अलि खानले १ रन जोडेका थिए ।
अमेरिकालाई रोक्ने क्रममा करन के.सी.ले ३, सोमपाल कामीले २, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले १ ।१ विकेट लिएका थिए ।
यस पहिले अमेरिकाको टेक्सासको ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर ब्याटिड. रोजेको नेपालले २० ओभरको निर्धारित खेलमा १ सय ७० रन जोडेको थियो ।
नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ९२ रन जोडे । उनले ६ छक्का र ७ चौकाका मद्दतले लोभलाग्दो रन जोडे । आजको खेलमा प्लेयर अफ द म्याच घोषित भूर्तेल आफ्नो पुरानो लयमा फर्किएका थिए । आज नेपालका लागि अनिल साहले २५, गुल्शन झाले १९,कप्तान रोहित पौडेलले १८, करन के।सी।ले ६,दीपेन्द्रसिंह ऐरीले २ र आरिफ शेखले १ रनको योगदान दिएका थिए ।
नेपाललाई रोक्ने क्रममा अमेरिकाका जसदीप सिंह र नस्थस किन्जिगेले २ । २ तथा सौरभ नेत्रभाल्करले १ विकेट लिएका थिए ।
आज उत्कृष्ट प्रदर्शन गरेर नेपालले एक खेल अगावै अमेरिकाको टी २० अन्तराष्ट्रिय श्रृखला आफ्नो पक्षमा पार्ने लक्ष्य पूरा गरेको छ ।
यस अगाडिको टी २० खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै ३ खेलको सिरिजमा २ ० को अग्रता बनाएको छ ।
तेस्रो तथा अन्तिम टी २० सोमवार बिहान रहेको छ । यो टी २० श्र्रृखलापछि अमेरिका ए सँग नेपालले ५० ओभरको अभ्यास खेल खेल्नेछ ।
कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।