Prakash Adhikari November 2, 2024

 

हंगकंग(चीन), १७ कार्तिक । द हङकङ सिक्सेसमा नेपाली युवा क्रिकेट टोली चम्किएको छ । पहिलो खेलमा इंग्ल्याण्डलाई पराजित गरेको नेपाली युवा टोलीले दोस्रो खेलमा अस्ट्रेलियालाई पनि पराजित गरेको छ ।

पहिलो जितबाट क्वाटरफाइनल पुगिसकेको नेपाल अस्ट्रेलियालाई शनिवार ११ रनले पराजित गर्दै समूह विजेता बनेको छ।

खलमा नेपालले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन बनाएर नतिजा नेपाललाई सुम्पियो ।

खेलमा अस्ट्रेलियाका ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा नट आउट ५५ रन बनाए । एलेक्स रोसले १४ रन बनाए । त्यस्तै डान क्रिस्चियनले ९ रन, फवाद अहमदले ८, एण्ड्रयू फेकेटले ५ र कप्तान साम हेज्लेटले १ रन जोडे ।

अष्ट्रेलियालाई रोक्ने क्रममा नेपालका प्रतिश जिसीले अस्ट्रेलियाका कप्तान ड्यान क्रिस्टियन, अलेक्स रोस र साम ह्याजलेटको विकेट लिए । उनले २ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए । लोकेश बम र विवेक यादवले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।

नेपालका कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा नट आउट ५१ रन बनाए । सन्दीप ५१ रन बनाउँदै रिटार्यट भएपछि क्रिजमा आएका विवेकले ४ बलमा २ छक्काको सहयोगमा १२ रन बनाए । लोकेशले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन जोडे ।

राशिद खानले २ बलमा २ छक्काको सहयोगमा नट आउट १२ रन जोडे । नेपाललाई रोक्ने क्रममा अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए ।

दुवै टोलीले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेका थिए । नेपालले आजै दिउँसो १ः३५ बजे क्वाटरफाइनल खेल्नेछ ।

Share Now