Prakash Adhikari November 7, 2024

काठमाडौँ, २२ कात्तिक: छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री के.पी. शर्मा ओली र सभामुख देवराज घिमिरेले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिनुभएको छ ।

उहाँहरु सबैले यस पर्वले नेपालीहरुमा आपसी एकता,सद्भाव र सौहार्दता अभिबृद्धि गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले छठ पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गर्नुहुँदै प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनी कामना गर्नुभएको छ ।

सूर्य देवता र छठी माताको पूजाअर्चना र व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम बसी धुमधाम तथा हर्षोल्लासका साथ छठ पर्व मनाइन्छ । खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ । भेदभावविना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर पूजाआराधना गरी यो पर्व मनाइन्छ ।

सद्भाव, एकता र सौहार्दतालाई अभिबृद्धि गर्ने यस पर्व :उपराष्ट्रपति रामसहायप्रसाद यादव

छठ पर्वको अवसरमा उपराष्ट्रपति उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना सन्देश दिनुभएको छ ।उहाँले श्रद्धा, आस्था, संकल्प, प्राकृतिक सौन्दर्यको अद्धितीय संगमको रुपमा रहेको छठ पर्वको सांस्कृतिक,सामाजिक,सामुदायिक,पारिवारिक र पर्यावरणीय महत्व रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले मधेशी समुदायको सांस्कृति पहिचानको रुपमा रहेको छठ पर्वले संस्कृति र परम्पराको संरक्षणमा पनि महत्वपूर्ण योगदा दिंदै आएको बताउनुभएको छ । उहाँले सामाजिक सद्भाव, एकता र सौहार्दतालाई अभिबृद्धि गर्ने यस पर्व राष्ट्रिय पर्वको रुपमा स्थापित भएकोमा खुसी पनि व्यक्त गर्नुभएको छ ।

उहाँले छठका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली र यस पर्व मनाउने विश्व समुदायका नागरिकहरुमा शुभकामना व्यक्त गर्नुभएको छ।

सूर्यको उपासना गरी मनाइने पवित्र पर्व : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बतानुभएको छ । प्रधानमन्त्री ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिदै आएको बताउनुभएको छ ।

“सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ, सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भयो”, छठ पर्वको अवसरमा शुभकामनामा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्, सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना ।”
–––

छठ पर्वले सामाजिक एकतालाई बलियो बनाउन सकोस्ः सभामुख

सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका छठ धर्मावलम्बी सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले छठ पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

“छठ पर्वले धार्मिकसँगै सामाजिक एकतालाई बलियो बनाउन मद्दत गरेको महसुस गरेको छु” सन्देशमा भनिएको छ, “यो पर्व कुनै जात, वर्ग वा धर्ममा आधारित छैनस समाजका सबै मानिसले एउटै उद्देश्यका लागि सामूहिक रूपमा पूजा गर्ने र समाजमा समानता र भाइचारा बढाउन सहयोग गरिरहेका छन् ।”

शुभकामना सन्देशमा छठ पर्व विशेष् ारूपमा सूर्य देवताको आराधना र उपासना गर्ने पर्व भएको र जसले स्वास्थ्य, सुख–समृद्धि र सन्तान सुखको आशीर्वाद दिने विश्वास गरिने उल्लेख छ । सूर्य देवतालाई रोग निवारण, शक्ति, र स्वास्थ्यका देवता मानिन्छ । यस पर्वमा सूर्य, जल र प्रकृतिको महत्वपूर्ण भूमिका हुन्छ ।

“नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकाबारे हामी सबै जानकार नै छौँ । छठ पर्वले नागरिकस्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेको छ”, सन्देशमा भनिएको छ ।

 

–––

Share Now