वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), २२ कार्तिक (बीबीसी) । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडन प्रशासन र डोनल्ड ट्रम्पबीच शान्तिपूर्ण ढङ्गले सत्ता हस्तान्तरण गर्न आफूले सघाउने बताउनुभएको छ।
वाशिङ्टन डीसीमा समर्थकहरूलाई सम्बोधन गर्दै ह्यारिसले चुनावको परिणामलाई स्वीकार गरे पनि चुनावी अभियानलाई बल दिएको लडाइँप्रति हार नमान्ने बताउनुभयो।
उहाँले आफूले सबै मानिसहरूको स्वतन्त्रता, अवसर, सम्मान र समानताको लागि लडिरहने पनि धारणा राख्नुभयो।
यसअघि बुधवार ह्यारिस र राष्ट्रपति बाइडनले राष्ट्रपति(निर्वाचित डोनल्ड ट्रम्पलाई टेलिफोन गरेर निर्णायक जितका लागि बधाई दिनुभएको थियो।
ट्रम्पको अभियानले संयुक्त राज्य अमेरिकालाई एकताबद्ध बनाउनुको महत्त्वबारे ह्यारिससँग पूर्व राष्ट्रपति सहमत रहेको जनाइएको छ।
ह्यारिसको सम्बोधन
चुनावमा पराजित भएपछि उपराष्ट्रपति ह्यारिसले वाशिङ्टनस्थित आफू अध्ययन गरेको हाउअर्ड विश्वविद्यालयमा एउटा भावपूर्ण सम्बोधन गर्नुभएको थियो ।
उहाँले समर्थकहरूलाई अमेरिकाको उज्ज्वल भविष्यका लागि लड्न नछाड्न अनुरोध गर्नुभयो। उहाँको अभियानकातर्फबाट समर्थकहरूलाई पठाइएको इमेलमा पनि त्यसमा जोड दिइएको छ।
चुनावको परिणाम आफूहरूले चाहेको जस्तो नआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जबसम्म हामीले हार मान्दैनौँ र लडाइ जारी राख्नेछौँ, अमेरिकाप्रतिको आशाको ज्योति सधैँ उज्यालो बल्नेछ।”
“म यो चुनावमा हार स्वीकार गर्छु तर यो अभियानलाई बल दिएको लडाईँमा हार मान्दिनँ।”
ओबामाले के भने ?
पूर्वराष्ट्रपति बराक ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले राष्ट्रपति(निर्वाचित डोनल्ड ट्रम्प र उहाँका उपराष्ट्रपति जेडी भान्सलाई शुभकामना दिनुभएको छ।
“रिपब्लिकन उम्मेदवारहरूसँगको हाम्रो कैयौँ विषयहरूमा रहेको मतभेदका कारण यो वास्तवमै हामीले अपेक्षा गरेको परिणाम थिएन,” उक्त जोडीले भनेको छ। “लोकतन्त्रमा बाँच्नु भनेको हाम्रो विचारले सधैँ जित्दैन भनेर आत्मसात् गर्नु र शान्तिपूर्ण सत्ता हस्तान्तरणलाई स्वीकार गर्न तत्पर हुनु हो।”
ओबामा दम्पतीले आफूहरूले कमला ह्यारिस र उहाँका उपराष्ट्रपति उम्मेदवार टिम वाल्जप्रति निक्कै गर्व महसुस गरेको पनि उल्लेख गर्नुभएको छ। ती दुईले उल्लेखनीय अभियान चलाएको उहाँहरुको भनाई छ।
ओबामाले महामारी र त्यसपछिको मूल्यवृद्धिले संसारभर यथास्थितिका विरुद्धमा चुनौती खडा गरेको भन्दै अमेरिका पनि त्यसबाट अछुतो नदेखिएको उल्लेख गर्नुभयो।
ती समस्याहरू समाधान गर्न सकिने उल्लेख गर्दै ओबामाले त्यसका लागि एक अर्काको कुरा सुन्नुपर्ने र आधारभूत संवैधानिक सिद्धान्त र लोकतान्त्रिक मान्यताहरू पालना गर्नुपर्ने टिप्पणी गर्नुभएको छ।
अब कमला ह्यारिसको भविष्य के हुन्छ?
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार जो बाइडनको बाँकी कार्यकालसम्म कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति रहनुहुनेछ। राष्ट्रपति(निर्वाचित ट्रम्प र उहाँका उपराष्ट्रपति भान्सलाई २० ज्यानुअरीमा सत्ता हस्तान्तरण गरिनेछ।
राष्ट्रपति(निर्वाचित ट्रम्प र भान्सले पदभार ग्रहण गरे लगत्तै बाइडन र ह्यारिस दुवैको अमेरिकी सरकारमा कुनै राजनीतिक जिम्मेवारी हुनुहुनेछैन।
“र यूकेको राजनीतिको जस्तो यहाँ विपक्षी दलको नेताको पद छैन्, ह्यारिस त्यस्तो जिम्मेवारीमा हुनुहुने छैन। तर अरू क्षेत्रबाट उहाँलाई प्रस्तावहरू आउन सक्छ।”


















