काठमाडौं, २२ कात्तिकः अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर देशका अधिकांश जिल्लामा छठ पर्व हर्षोल्लाससहित मनाइएको छ ।
देशको राजधानी काठमाडौंमा राष्ट्रपति रामचन्द्र पौडेल पशुपति क्षेत्रको गौरीघाट र कमलपोखरीमा पुगेर छठी माताको पूर्जाअर्चनामा सरिक भई अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको थियो ।
काठमाडौंमा काठमाडौं महानगरपालिका, स्थानीय संघसंस्थाहरुको सरसहयोगमा गौरीघाट, कमलपोखरी र टेकु दोभानमा छठपूजा मण्डपहरु तयार गरिएका थिए ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छठी माताको पूजा अर्चना गर्नुभएको छ । आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको छठ पूजा स्थलमा पुगेर उहाँले छठी माताको पूजा गर्नुभएको हो ।
प्रधानन्यायाधीश राउतले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको थियो ।
प्रधानन्यायाधीश राउतलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झालगायतले स्वागत गर्नुभएको थियो ।
ललितपुरमा कुपोन्डोलस्थित बागमती नदी किनार, राममन्दिर र गोदावरी नगरपालिका–१ र १४ को सिमानामाप र्ने गोदावरी खोला किनारमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आरधाना गरेका थिए । नेकपा माओवादी केन्द्र पाटीका उपाध्यक्ष पम्फा भुसाल ललितपुरको सानेपा राममन्दिरस्थित बागमती नदी किनारमा छठ पर्व मनाउन सहभागी हुनुभएको थियो ।
छठ पर्वका अवसरमा भक्तपुरका भक्तजनहरुले भक्तपुर र ललितपुरको सीमाका रूपमा अवस्थित गोदावरी नदीमा बिहीबार साँझ छठी माताको पूजा आराधना एवं सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै छठ मनाएका छन् ।
विशेषतः तराईमा मनाइने छठ पर्व केही वर्षयता पहाडी जिल्लामा पनि धुमधामसँग मनाउन थालिएको छ ।
छठका अवसरमा झापा जिल्लाको मेची नदीको किनारमा छठ मण्डप तयार पारी बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै झापाका श्रदालु भक्तजनहरुले छठी माताको पूजा आराधना गरेका छन् ।
सुनसरी जिल्लामा यसबर्ष छठ पर्व धुमधामसंग मनाइएको छ । जिल्लाको बुढी खोला, गंगा जमुना खोलाको किनारका अलवा इनरुवा नगरपालिका–२ स्थित नहर वरिपरि ठूला ठूला पण्डाल लगाएर छठ पूजाका गरिएको थियो । छठ पर्वका अवसरमा सुनसरीको इनरुवा नगरपालिकास्थित कुरुवा खोलामा आयोजित छठ विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा कला प्रस्तुत गर्दै बाबा बागेश्वर झाँकी समूहका कलाकारले छठपर्वलाई संझन लायक बनाएका थिए । सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका– ४ स्थित बुढी (गङ्गा जमूना) खोलामा छठ पर्वको अवसरमा झिलिमिली र आतिशबाजी पनि गरिएको थियो ।
छठ पर्वको मुख्य दिन बिहीबार सुनसरीको सदरमुकाम इनरुवा–१ स्थित सङ्करपुर शाखा नहरको जलाशयमा पनि छठी घाट निर्माण गरी ब्रतालुहरुलाई पूजाआराधाना गर्ने र अस्ताउँदो सूर्यको उपसना गर्दै अरघ्य अर्पण गर्ने बन्दोबस्त मिलाइएको थियो । त्यसरी नै सुनसरीको इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलामा पनि घाट निर्माण गरी अस्ताउँदो सूर्यको उपासना गर्ने ब्यवस्था मिलाइएको थियो ।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित भुल्के देवी परिसरमा सलकपुरमा पनि छठ सेवा समितिले ब्रतालुहरुलाई पूजाआराधना गरी सूर्यलाई अर्घ्य चढाउने व्यवस्था मिलाएको थियो ।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित कालीखोला जलाधारमा पनि छठ पूजा मण्डप निर्माण गरी ब्रतालुहरुलाई पूजा आराधाना गर्ने र अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउने व्यस्था मिलाइएको थियो ।
छठ पर्वको दिन बिहीबार विराटनगर महानगरपालिकाको ११ र ६ भएर बग्ने सरौचियास्थित नहरमा छठी घाट निर्माण गरेर अस्ताउँदो सूर्यलाई उपसना गरी अर्घ्य दिने व्यवस्था मिलाइएको थियो ।
छठ पर्वको अवसरमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरीमा पनि छठ मण्डप निर्माण गरी ब्रतालुहरुलाई पूजा आजा गर्ने र बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँने व्यस्था मिलाइएको थियो । राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरीमा बिहीबार छठपूजा गर्ने व्यवस्था गरिएको थियो । ब्रतालुहरु छठीमाईको पूजाआराधना गरेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
महोत्तरीको जलेश्वर र बर्दिवासमा पनि यस बर्ष घुमधामसंग छठ मनाइएको छ । जिल्लाको जलेश्वर नगरपालिका –१ स्थित पवित्र पोखरी वरूण सरोवर परिसरमा ठूलो संख्यामा ब्रतालुहरु एकत्रित भएर छठी माताको पूजाआराधाना गरी साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका थिए ।
छठ पर्वको अवसरमा महोत्तरीको जलेश्वर ८ बजराही गाउँमा पोखरीको बीचमा सूर्य देवताको मूर्ति स्थापना गरी पूजाआजा पनि गरिएको थियो । त्यस्तै जलेश्वर नगरपालिका–८ स्थित चौधरी पोखरीमा पनि ठूलो संख्यामा ब्रतालुहरू एकत्रित भएका थिए । त्यस्तै बर्दिबास–१४ स्थित हटिया पोखरी छठीघाटमा पनि पानीमा पसेर करबद्ध प्रार्थना गर्दै ब्रतालुहरुले अस्ताउदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।
धनुषामा पनि लोक आस्थाको महान् पर्व छठ धूमधामसंग मनाइएको छ । बिहीबार साँझ ब्रतालुहरुले जनकपुरधाम उपमहानगरपालिका–९ स्थित गोरधोइ पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित ओैरही खोला सिँगारिएको छठ घाटको रात्रीकालिन दृष्य ज्यादै मनमोहक थियो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित औरही खोला बधु झै सिंगारिएको थियो । छठ घाटको बत्ति लाईन कटेपछि दियो बालिएको बेला यो सुन्दर शहरको झिलीमिली बत्ती जस्तो देखिएको थियो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ कुम्हरौलस्थित थान पोखरीमा पनि छठी घाट बनाइएको थियो । त्यहाँ पनि अस्ताउँदो सूर्यलाई आराधाना गरी ब्रतालुहरुले अर्घ्य दिएका थिए ।
सिराह जिल्लाको गोलबजार पनि छठी घाट निर्माण गरी लोकआस्थाको महापर्व छठमा ब्रतालुहरुलाई पूजा आराधना गर्ने र अस्ताउँदो सूर्य देवलाई उपसना गरी अर्घ्य दिँने व्यवस्था मिलाइएको थियो ।
सर्लाही जिल्लामा आस्था र निष्ठाको पर्व छठ पूजाको अवसरमा बागमती नगरपालिका–१२ स्थित बागमती नदी किनारमा छठी घाट निर्माण गरी ब्रतालुहरुलाई पूजा आराधना गर्ने र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँने व्यवस्था मिलाइएको थियो ।
पहाडी जिल्ला तनहुँमा पनि छठ पर्व भव्यताका साथ मनाइएको छ । जिल्लको सदरमुकाम रहेको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा बिहीबार सॉझ छठको पूजा गर्दै ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
हिमाली जिल्लामा सूचीकृत म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा बिहीबार छठ पर्व मनाइयो । व्यापार, व्यवसाय र पेसाको सिलसिलामा म्याग्दीमा आएर घर जान नपाएका तराईबासीहरुले कालीगण्डकी किनारमा अस्ताउँदो सूर्य
आराधाना गरी अर्घ्य दिँएका थिए ।
छठ पर्वको अवसरमा बिहीबार बुटवल उपमहानगरपालिका– ११ स्थित नहरपुरको छठ घाटमा ब्रतालुहरुले अस्ताउँदो सूर्यको उपासना गरेका थिए ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोनहियाको छठ घाटमा पनि ठूलो संख्यामा ब्रतालुहरु भेला भएर अस्ताउँदो सूर्यलाई आराधाना गरी अर्घ्य चढाएका थिए ।
चितवनको भरतपुर महानगरपालिका–१ नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबार छठ पर्वको अवसरमा तराई सामुदायिक सेवा समिति नारायणगढले छठ पर्व विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेणु दाहालले पनि मन्तव्य राख्नुभएको थियो ।
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित गोर्खाटोलमा कटुवा खोला किनारमा पनि छठ पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । त्यहाँ भेलाभएका ब्रतालुहरुले बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँएका थिए ।
देशकै आर्थिक तथा व्यापारिक नगरीका रुपमा चिनिने वीरगञ्जमा पनि बिहिबार भव्य रुपमा छठ पर्व मनाइएको छ । आज यहाँ जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।
वीरगञ्ज महानगरसहितका पर्सा जिल्लाका छठघाटलाई सिँगारेर ‘बेहुली’ झै चिटिक्क पारिएको छ । श्रद्धालु भक्तजनहरु दिउँसो १२ बजेपछि घरनजिकै रहेको छठ घाटमा परिवारका पुरुष सदस्यले ‘दउरा’ ९पूजाका सामग्री बोकेको ढकिया० बोकेर छठघाटमा पुगेका थिए ।
छठ कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ ।
बर्तालुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अर्घ्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ ।
छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अर्घ्य दिने गरिन्छ । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकआस्थाको पर्व छठलाई वीरगञ्जमा निष्ठा र श्रद्धापूर्वक मनाइएको बताउनुभयो । “श्रद्धालु भक्तजन महिलाले आफ्नो परिवार र सन्ततीको सुखी र समृद्धिको कामना गर्दै पानी समेत नखाई व्रत बसी छठ मनाउँछन्”, उहाँले भन्नुभयो, “छठ पर्व प्रकृतिसँग पनि सम्बन्धित छ ।”
घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानुले वीरगञ्जमा छठ पर्वलाई आदरपूर्वक मनाइने बताउनुभयो । “हामीले विगत २२ वर्षदेखि प्राचीन कला संस्कृतिको संरक्षण र जर्गेना गर्दै छठ पर्व मनाउँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “घडीअर्वा पोखरीमा दिउँसोदेखि नै श्रद्धालुभक्तजनहरुको बाक्लो उपस्थितिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । विधिवत् रुपमा छठ पूजाको समापन भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिनेछ ।”
अध्यक्ष कानुले छठ पर्वमा परिवारका सदस्यले छठ पूजाका सामग्रीलाई ढकिया, डालोलगायत राखेर छठ घाटमा ल्याउने परम्परा रहेको बताउनुभयो । “महिला बर्तालुहरु पानी नखाई व्रत बस्ने भएकाले परिवारका सदस्यले छठघाटसम्म पूजाका सामग्री बोकेर ल्याउने चलन छ”, उहाँले भन्नुभयो, “परिवारको सुख, शान्ति र भातृत्वको विकास गर्नका लागि यो पर्व निकै महत्वपूर्ण रहेको छ ।” समितिका अध्यक्ष कानुले वीरगञ्जका अन्य स्थानमा भन्दा घडीअर्वा पोखरीमा दर्शनार्थी र अवलोकनकर्ताको धेरै घुइँचो लाग्ने बताउनुभयो ।
“हामीले रु १८ लाख रकम खर्चेर छठ पर्वका लागि घडीअर्वा पोखरी झकिझकाउ गराएका छौँ”, अध्यक्ष कानुले भन्नुभयो, “भक्तजनसहित करिब एक लाख ५० हजारले अवलोकन गर्ने अनुमान गरेका छौँ ।” वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, मुर्ली घठघाट, माइधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा धेरै भक्तजनको बाक्लो सहभागिता रहन्छ ।


















