Prakash Adhikari November 10, 2024

काठमाडौँ, २५ कात्तिकः किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको योगदानको कदर गर्दै किरात समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले राससलाई जानकारी दिनुभयो ।

महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य  : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाउनुभएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी परम्पराको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुशरणयोग्य रहेको बताउनुभएको छ ।

राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ ।” सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्दले धार्मिक गुरुमात्र नभई सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई कार्यसमेत गर्नुभएको उहाँले स्मरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि निर्वाह गरेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ

Share Now