Prakash Adhikari November 10, 2024

काठमाडौँ, २५ कात्तिकः युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको आफ्नो चौथोँ खेलमा नेपालले थाइल्याण्डसामु १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा आजको खेलमा नेपालले टस जितेर थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा १ सय ३९ रन जोडेको थियो ।

नेपालका लागि साना प्रविनले ४६ बलमा ५३ रन जोडिन । डेब्यू खेलमा उनले राम्रो प्रस्तुत गरिन । नेपालका लागि सावित्री धामीले ३६ बलमा २८ रन जोडिन त्यस्तै सोनी पाख्रिनले १० बलमा १९ रन जोडिन् ।

नेपाललाई रोक्ने क्रममा थाइल्याण्डकी टी नथारिकाले ३ र के नसिकीले २ विकेट लिइन् ।

गत बुधबारदेखि सुरु एसियो छनोटमा नेपालको यो चौथौँ खेल हो । नेपालले यसअघि दुई खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, आफ्नो दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । साथै तेस्रो खेलमा शनिबार घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

 

Share Now