पाटन (ललितपुर), २५ कात्तिकः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुवर्णशमशेरको इतिहासबाट वर्तमान पुस्तालाई त्यागको राजनीतिप्रति अभिप्रेरित गर्नुपर्ने बताउनुभएको छ ।
सुवर्ण स्मृति परिषदद्वारा आज यहाँ आयोजित सूवर्णशमशेर राणाको ४७औँ स्मृति दिवसका अवसरमा प्रजातन्त्र सेनानीहरुलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पार्टीका संस्थापक नेताहरुमा ठूलो हार्दिकता रहेको उल्लेख गर्नुभयो ।
“उहाँहरूले पदका लागि दाबी गरेर झगडा गरेको पाइएन, एकले अर्काप्रति सम्मान गरेको पाइन्छ, पछिल्लो पुस्तालाई हामीले यो इतिहास बुझाउनु छ, यसले हाम्रो गरिमालाई उँचो बनाउँछ, वर्तमान पुस्तालाई त्यागको राजनीतिप्रति अभिप्रेरित गर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।
उहाँले नेताहरुको निष्ठा, त्याग र सङ्घर्षका माध्यमबाट प्राप्त सफलतालाई भुलेर केही गल्ती कमजोरीका आधारमा सबैलाई आलोचना गरी नकारात्मकतालाई प्रश्रय दिनु नहुनेमा जोड दिनुभयो ।
मन्त्री पाण्डेले विसं २०८४ सम्म यही गठबन्धन लिएर जानुपर्ने बताउँदै पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सेवाका आधारमा जनताको मन जित्नुपर्ने बताउनुभयो ।
मन्त्री पाण्डेले तीनजना प्रजातन्त्र सेनानीहरुलाई सुवर्ण स्मृति सम्मान प्रदान गर्नुभएको थियो । उहाँले ओखलढुङ्गाका महेशकुमार कोर्माेचा, चितवनका सुनदेवी जोशी र सप्तरीका रामनारायण देवलाई सुवर्ण स्मृति सम्मान प्रदान गर्नुभएको हो ।
—