Prakash Adhikari June 22, 2018

मस्को(रुस), ९ असार (एजेन्सी) । २१औं संस्करणको फिफा विश्वकप फुटबलमा नाइजेरियाले पहिलो जित निकालेको छ। शुक्रबार भएको खेलमा अफ्रिकी मुलुक नाइजेरियाले युरोपियन राष्ट्र आइसल्याण्डलाई २-० गोल अन्तरले हराउँदै पहिलो जित निकालेको हो।

भोल्गोग्राड स्टेडियमा भएको खेलमा नाइजेरियाको जितमा दुवै गोल अहमेद मुसाले गरे। मुसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७५ औं मिनेटमा मुसाले दोस्रो गोल गर्दै नाइजेरियाको अग्रता दोब्बर पारे। त्यसपछि कुनै टिमबाट गोल भएन र नाइजेरियाले पहिलो जित निकाल्यो।

यसअघि आइसल्याण्डले पाएको पेनाल्टी समेत मिस गरेको थियो। खेलको ८३ औं मिनेटमा गिल्फी सिगार्डसनले आइसल्याण्डका लागि पेनाल्टीमा गोल गर्न चुके। नाइजेरियाका इबुईले आइसल्याण्डका अल्फ्रेडलाई डिएरियामा लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले आइसल्याण्डले पेनाल्टी पाएको थियो।

यो जितसँगै समूह डी मा नाइजेरियाले २ खेलबाट ३ अंक जोड्दै अन्तिम १६ को यात्रा जिवितै राखेको छ। क्रोएसियाले यसअघिनै दुबै खेलमा सतप्रतिशत नतिजा निकालेर अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ।

अब अन्तिम चरणको खेलपछि नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिना मध्ये एक टोलीले अन्तिम १६ मा स्थान बनाउने छन्।

आइसल्याण्डविरुद्ध नाइजेरियाले निकालेको २-० को जितले अर्जेन्टिनालाई फाइदा पुगेको छ। यो खेलमा नाइजेरिया हारेको खण्डमा अर्जेन्टिना समूह चरणबाट बाहिरिने पक्का थियो। तर, यो खेल नाइजेरियाले जितेसँगै अर्जेन्टिनाको दोस्रो चरण पुग्ने सम्भावना थप बलियो भएको छ।

यो समूहमा समान खेलबाट आइसल्याण्ड र अर्जेन्टिनाको समान १-१ अंक छ। अब नाइजेरियाले अन्तिम खेलमा अर्जेन्टिनासँग खेल्ने छ। उक्त खेलमा जित निकाले नाइजेरियाले अन्तिम १६ मा स्थान बनाउने छ। बराबरी खेले क्रोएसिया र आइसल्याण्डबीचको खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ।

अन्तिम खेलमा नाइजेरिया पराजित भए र क्रोएसियाले आइसल्याण्डलाई हराएमा अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गर्नेछ।

आइसल्याण्डले क्रोएसियालाई हराएमा अर्जेन्टिनाले अर्को चरणको यात्रा केही कठीन हुन्छ।

यसरी जान्छ अर्जेन्टिना दोस्रो चरणमा

उपाधिको प्रमुख दाबेदार एवम् अघिल्लो संस्करणको उपविजेता अर्जेन्टिना क्रोएशियासँग अप्रत्यासित हारसँगै संकटमा परेको छ।

क्रोएशियालाई पराजित गरे अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना लगभग निश्चित थियो। तर, हिजोको पराजयले उसलाई विश्वकपको समूह चरणबाटै घर फर्काउने संघारमा पुर्‍याइदिएको छ।

यद्यपी, अर्जेन्टिनाका लागि विश्वकप अझै सकिएको छैन। उसलाई दोस्रो चरणसम्म पुर्‍याउन केही अंक गणितीय तथ्याङ्क बाँकी नै छन्।

समूह डीमा रहेको अर्जेन्टिनाको समूहबाट दुई खेलबाट सतप्रतिशत जित निकालेको क्रोएशिया नकआउट चरणमा प्रवेश गरिसकेको छ।

समूहमा समान २ खेल खेलेको नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा छ। आइसल्याण्ड र अर्जेन्टिना १ अंक साथ प्रतिश्पर्धामा छन्।

शीर्ष स्थानमा रहेको क्रोएशियाले समूह चरणको अन्तिम खेलमा पनि शतप्रतिशत जित निकाल्दै आइसल्याण्डलाई हराउनुपर्नेछ। यस्तोमा अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नु पर्नेछ। त्यसो भएमा अर्जेन्टिनाको ४ अंक हुनेछ र समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्नेछ।

अन्तिम खेलमा क्रोएसियालाई फराकिलो अन्तरमा हराएमा आइसल्याण्ड दोस्रो चरण पुग्नेछ।

आज आइसल्याण्डलाई हराएर ३ अंक बटुलेको नाइजेरियाले अन्तिम खेलमा अर्जेन्टिनासँग बराबरी या जित निकाले दोस्रो चरणमा पुग्नेछ।

Share Now

Leave a comment.