Prakash Adhikari November 24, 2024

काठमाडौं, ९ मंसिर । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई धराशायी बनाउन उद्यत गिरोहले अहिले पारिश्रमिक बृद्धिको नाममा विमानका पाइलटहरुलाई हड्तालमा उतार्न न्वारानदेखिको बल लगाइरहेको छ ।

अहिले निगमका अन्तर्राष्ट्रिय उडान गर्ने चारै वटा जहाज सञ्चालनमा आएपछि यो गिरोह सल्बलाएको हो । निगमका विमान सञ्चालनमा समस्या ल्याएपछि नेपालमा सञ्चालन हुने अन्य अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई फाइदा हुन्छ । निगमको आम्दानी घटेर धराशायी हुन्छ । निगमलाई नाफामा लान नदिने र सधै घाटामा चल्छ भनेर निजीकरण गराउन उद्यत एक समूहको उक्साहटमा निगममा उड्डयन कर्मचारीलाई उचालेर विमान सेवा अवरुद्ध गर्ने दुस्प्रयास हुँदै आएको छ । केही समय पहिले यही गिरोहले विमान परिचारिकाको उमेरको विषयलाई लिएर उडान अवरुद्ध गरेको थियो । परिचारिकाहरुको सेवा उमेरको हद बढाउने सहमतिपछि परिचारिकाहरु चुप लागेका छन् । अहिले निगम डुबाउने धमिराहरुले पाइलटलाई उठाएर निगमको सेवा अवरुद्ध पार्न खोजी रहेका छन् ।

पर्यटकीय सिजनमा निगमका अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा निगमलाई दैनिक करोडौ नोक्सानी हुने अवस्था आउछ । निगमका ४३ मध्ये ८ पाइलटहरुले तलबबृद्धिको माग पूरा नभएको भन्दै कहिले बिरामी बिदा र कहिले आकास्मिक काम परेको भन्दै ड्यूटी छोडेर निगमको नियमित उडानलाई प्रभावित पारिरहेका छन् । यस विषयमा निगमको अपरेशन विभाग प्रमुख दिपु ज्वहारचनले मंसिर ८ गतेदेखि उडानमा असर देखिन थालेको गम्भीर आरोप लगाउनुभएको छ ।

हवाई सेवा राष्ट्रको अत्यावश्यक सेवामा पर्दछ । यसमा हडताल गर्न पाइदैन । कोरोनाकालमा समेत कोरोनाको उद्गम भएको चीनको बुहानदेखि अन्य राज्यमा पुगेर नेपालीहरुको उद्धार गर्नेदेखि मेडिकल सामान ओसारपोसारमा निगमका जहाजहरु उपयोग भएको र पाइलटहरुले इमान्दारीपूर्वक व्यवसायिक कार्य सम्पादन गरेको ताजा दृष्टान्त हाम्रो सामु छ ।

अपरेशन विभागका कायममुकायम निर्देशक क्याप्टेन दिपु ज्वाहरचनले भन्नुभएको छ, निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र भएको छैन, निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको छ । उहाँले यसलाई निगम व्यवस्थापनले अत्यन्त गम्भिर रुपमा लिएको जनाउदै निगमलाई पर्ने आर्थिक लगायत सम्पूर्ण नोक्सानीका सम्बन्धमा नियमानुसार हुने व्यहोरा जानकारी गराउनुभएको छ । उहाँले सम्पूर्ण विमान चालकहरुलाई पुनः आआफ्नो रोष्टर अनुसार उडानमा संलग्न भई कुनैपनि उडान प्रभावित नगर्न नगराउनुहुन फेरि पनि सूचित गराउनुभएको छ ।

निगमका अपरेशन विभाग प्रमुख क्याप्टेन ज्वहारचनले निगमका विमान चालकहरुको सेवा सुविधा बढाउने सन्दर्भमा निगम व्यवस्थापनबाट विभिन्न चरणमा र मितिमा अद्यावधिक जानकारी गराइएको उल्लेख गर्नुभएको छ । उहाँले यस विषयमा पर्यटनमन्त्री बद्री पाण्डे र सचिव गणेश पाण्डेय पनि अत्यन्त सकारात्मक ढंगले लाग्नुभएको बताउनुभएको छ । उहाँले मन्त्रालयले यस विषयमा अर्थमन्त्रालय समक्ष फाइल पेश गरिसकेको उल्लेख गर्दै आज निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बजार व्यवस्थापन विभागका निर्देशक र आफ्नो सचिवालयका पदाधिकारीहरुसहित अर्थमन्त्रीसमक्ष विषयको गाम्भिर्यता अवगत गराउनु भएको थियो । उहाँका अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि यस विषयमा सकारात्मक रहनुभएको छ । पर्यटन सचिवले पाइलटहरुको पारिश्रमिक बृद्धिका सम्बन्धमा भोलि अर्थमन्त्रीसग भेट्ने समय मिलाइ सक्नुभएको पनि अपरेसन्स विभागका प्रमुख क्याप्टेन दिपु ज्वहारचनले आज प्रकाशित विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

Share Now