काठमाडौं, १० मंसिर । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघले आइतबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
केही दिनअघि भारतको कनार्टक यू१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टिम तयार गरिएको हो । उक्त सिरिज नेपाली टोलीले ३ २ ले जितेको थियो ।
क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । टोलीको कप्तानमा सिनियर टोलीका लागि खेलिसकेका तीव्र गतिका बलर हेमन्त धामी छन् । यस्तै उपकप्तानमा अर्जुन कुमाल रहेका छन् । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।
एसिया कप प्रतियोगिता मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालको पहिलो खेल मंसिर १४ गते श्रीलंकासॅंग रहेको छ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।
एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहको शीर्षमा रहने दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।