
मस्को(रुस) १०, असार (एजेन्सी) ।२१औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आइतबार सम्पन्न खेलमा पानामालाई हराउदै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ। नोभगोरोड स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले पानामामाथि ६-१ को फराकिलोे जीत निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।
इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे। त्यस्तै स्टोनले २ तथा लिङ्गार्ड एक गोल गरे।
खेलको आठौं मिनेटमा स्टोनले गोल गर्दै इङ्ल्याण्डले सुरूवाती अग्रता दिलाएका थिए।
खेलको २१ औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।
३६ औं मिनेटमा लिङ्गार्डले गोल गर्दै इङ्ल्याण्डलाई ३–० को स्थितिमा पुर्याए। स्टोनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा ४(० को अग्रता पुर्याउँदा पहिलो हाफको इन्जुरी समयमा केनले पेनाल्टीमै गोल थप्दै अन्तर ५(० मा पुर्याए।
पहिलो हाफ ५(० ले पछि परेको पानामाले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल रोक्न सकेन।
खेलको ६२औं मिनेटमा केनले गोल गर्दै ह्याट्रिक पुरा गरे।
खेलको ७८ औं मिनेटमा पानामाका कप्तान बालोएले सान्तवाना गोल फर्काए।
केन जारी विश्वकपमा दोस्रो ह्याट्रिक गर्ने खेलाडी हुन्। यसअघि पोर्चुगलका कप्तान रोनाल्डोले स्पेनविरूद्ध ह्याट्रिक गरेका थिए। जारी विश्वकपमा केनले ५ गोल गरिसकेका छन्।
रोनाल्डो र लुकाकुले ४(४ गोल गरिसकेका छन्।
समूह जी मा रहेको इंग्ल्यान्डको पहिलो खेलमा ट्निसियालाई हराएएको थियो।
यता पहिलो खेलमा बेल्जियमसँग पराजित भएको पानामा दुई खेलमा पराजित हुँदै अन्तिम खेल अगावै विश्वकपको अन्तिम १६ दौडबाट बाहिरिएको छ।
अब समूह चरणको अन्तिम खेलमा इङल्याण्डले बेल्जियमसँग खेल्नेछ।