Prakash Adhikari December 7, 2024

काठमाडौं, २२ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।

संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ४, मा आयोजना गरेको एक कार्यक्रमका बीच विगत १८ बर्ष देखि सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याउदैै आइरहेकोे सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरेको हो ।

 

बैंकले पाएको अवार्ड संचालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले लण्डनमा बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गर्नुभएको छ । अवार्ड समारोहमा करिव १०० भन्दाबढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायतका अधिकारीहरु गरि करिव ३०० जना भन्दाबढीको उपस्थिति रहेको थियो ।

बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरबान्वित महसुस गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधि मैत्रि आधुनिक बैंकिंङ्ग सेवा सुविधा ग्राहकहरुमाझ ल्याउनको लागि हौंसला मिलेको बताउनुभयो।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस अवार्डको प्राप्ती संम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट संम्भव भएको बताउदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ्ग र हरित बैंकिंङ्गका सेवा सुविधाहरुमा थप बल गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

द फाइनान्सियल टाईम्सले बार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसंम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ र यसैअनुरुप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकरमार्फत प्रकाशित हुने गरेको छ ।

सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स भर्च्युअल क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भर्च्युअल क्रेडिट कार्डमा रहेको छ । बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय९७ वटा शाखा, १ सय ६२ वटा एटीएम , ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख भन्दाबढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Now