
इस्ताबुल(टर्की), ११ असार । टर्कीका निर्वाचन अधिकारीहरूले राष्ट्रपति रेजेप तय्यीप एर्दोआन दोस्रो कार्यकालका लागि विजयी भएको बताएका छन्।
प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले ‘खसेका वैध मतमध्ये राष्ट्रपतिले बहुमत मत ल्याएको’ बताए। तर उनले थप विवरण दिएनन्।
सरकारी सञ्चारमाध्यमका अनुसार ९० प्रतिशत मत गणना भइसक्दा एर्दोआनले करिब ५३ प्रतिशत मत हासिल गरेका छन्।
उनका प्रमुख प्रतिद्वन्द्वी मुहर्रम इञ्जाले ३१ प्रतिशत मत हासिल गरेका छन्।
शक्तिशाली
आधाभन्दा बढी मत हासिल गरेसँगै अर्को चरणमा प्रतिस्पर्धा गर्नबाट एर्दोआन जोगिएका छन्।
एर्दोआनको एकेले पार्टी संसद्मा पूर्ण बहुमत ल्याउने देखिएको छ।
चुनावको औपचारिक नतिजा चाहिँ शुक्रवार घोषणा गरिने छ।
टर्कीको नयाँ संविधानले राष्ट्रपति एर्दोआनलाई व्यापक शक्ति प्रदान गरेको छ।
बीबीसी संवाददाता मार्क लोवेन भन्छन्, टर्कीका यी शक्तिशाली व्यक्तिले प्रधानमन्त्री पद हटाउँदै, आफैँले कानून ल्याएर शासन गर्दै र वरिष्ठतम न्यायाधीशहरू चयन गर्दै ठूलो शक्तिको अभ्यास गर्नेछन्।
पराजय
राष्ट्रनिर्माता आटाटर्कपछिकै उनी सबैभन्दा शक्तिशाली नेता भएको देखिएका छन्।
चुनावी नतिजापछि बोल्दै एर्दोआनले भने, “टर्कीले सिङ्गो विश्वलाई लोकतन्त्रमा एउटा पाठ सिकाएको छ।”
एर्दोआनका प्रमुख प्रतिद्वन्द्वी इञ्जाले सामाजिक सञ्जालमार्फत पराजय स्वीकारेका छन्।
तर चुनाव निष्पक्ष नभएको उनले दावी गरेका छन्।
बीबीसी