Prakash Adhikari December 8, 2024

दमक (झापा), २३ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गर्नुभएको छ ।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो । कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।

भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी हुनुहुन्छ ।

आधुनिक विकासको नमुनाः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो ।

उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो ।

Share Now