
काठमाडौं, ८ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित हुनुभएको छ । संघीय संसद् सचिवालयले आज अपरान्ह सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।
‘‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित हुनुभएको थियो । उहाँ २०७९ को चुनावमा पहिलोपटक सांसद निर्वाचित भए पनि उहाँले विधिपूर्वक नागरिकता पुनर्प्राप्ती गरेको नपाइएकोले सर्वोच्च अदालतले उहाँको सम्पूर्ण निर्वाचन प्रकृया रद्द भएको ठहरसहितको फैसला गरेपछि पुनः चुनाव भएको थियो ।
दोस्रो पटक निर्वाचित भएका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।
संविधानको धारा १०३ मा प्रतिनिधि सभाका कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परे सभामुखलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप आइतबार नै कास्की प्रहरीले संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ता भएको जानकारी गराएको थियो ।
लामिछाने गत २ कात्र्तिकमा काठमाडौंबाट पक्राउ पर्नुभएको थियो । त्यसको जानकारी जिल्ला प्रहरी कार्यालयले त्यसबेलै गरेको थियो । जानकारी पाएपछि संघीय संसद् सचिवालयले लामिछाने पक्राउ परेको सूचना निकालेको थियो ।
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी)अर्याललाई तोकिएको छ ।
रास्वपाको आज बसेको सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेद्वारा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकिएको व्यहोरा आजको सचिवालयको बैठकमा जानकारी गराइएको थियो ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो, “सभापति लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न अपेक्षासहित अर्याललाई शुभकामना दिनुभएको छ ।”
पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । आइतबार नै सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न कास्की प्रहरीले सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको थियो ।