
मोन्टरियल (क्यानडा),१७ असार । क्यानडामा जारी ग्लोबल टि-२० लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित टोली मोन्टरियल टाइगर्सले लगातार दोस्रो हार बेहोरेको छ।
आफ्नो दोस्रो खेलमा टाइगर्सले क्रिकेट विन्डीज बि बिरुद्ध २ विकेटको हार बेहोरेको हो।
किंग सिटिमा शनिवार सम्पन्न खेलमा टस जित्दै ब्याटिंगमा उत्रिएको टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो। उसको इनिंगमा सिकन्दर राजाले ४७ तथा सुनिल नारायणले २८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। ओपनर ब्याट्सम्यानद्वय नारायण र ड्वेन स्मिथले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेपनि बिचका ओभरमा लगातार विकेट गुमाउँदा कुनै समय टाइगर्स ९२र४ को अवस्थामा आइपुगेको थियो। टाइगर्सको इनिंग सम्हाल्ने क्रममा राजाले मात्र ३७ बलमा ३ चौका र २ छक्का सहित ४७ रन जोडेका थिए। क्रिकेट विन्डीज बि को बलिंग तर्फ ओबेड मक्कोए र जेरिमियाह लोउइसले समान ३-३ विकेट लिएका थिए।
जवाफमा १८४ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको विन्डीज बि टोलीले खेल सकिन ५ बा अगावै ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसको जितमा म्यान अफ दि म्याच निकोलस पुरनले ५८ तथा ब्रेन्डन किंगले ५६ रन जोडेका थिए। यस्तै समर स्प्रिंगरले समेत २७ रनको महत्वपूर्ण योगदान गरे। टाइगर्सको बलिंग तर्फ पिटर सिडल र लासिथ मलिंगाले समान २-२ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
सन्दिपको कमजोर प्रदर्शन
ग्लोबल टि-२० लिग अन्तर्गत मोन्टरियल टाइगर्सको पहिलो खेल गुमाएका सन्दिपले शनिवारको खेलमा भने अपेक्षा अनुरुप प्रदर्शन गर्न सकेनन्। महँगो साबित भएका उनले आफ्नो ४ ओभरको स्पेलमा १ विकेट लिन ५७ रन खर्चिए।
९ नम्बरमा ब्याटिंग गर्न उत्रिएका जेरिमियाह लोउइसलाई एल बि डब्लु धरापमा पार्दै एक विकेट लिएपनि अन्य बलरको तुलना सन्दिप महँगो साबित भए। आफ्नो स्पेलको अधिकांश समय निकोलस पुरन र ब्रेन्डन किंगलाई बलिंग गरेका उनले पहिलो ओभरमा नै २१ रन खर्चिएका थिए। यस्तै दोस्रो ओभरमा १० रन, तेस्रो ओभरमा २५ रन तथा चौथो ओभरमा भने सन्दिपले १ विकेट लिंदै १ रन मात्र खर्चिएका थिए।
सन्दिपलाई ग्लोबल टि-२० लिगको टोलि मोन्टरियल टाइगर्सले ड्राफ्टको छैठौं चरणमा चयन गरेको थियो।