Prakash Adhikari January 11, 2025

काठमाडौं, २७ पौष । मलेसियामा अर्को साताबाट सुरु हुने आइसीसी यु १९ महिला विश्व कपमा प्रतिस्पर्धा गर्ने नेपाली युवा टोलीलाई शुक्रबार बिदाइ गरिएको छ ।

पूजा महतोको कप्तानीमा रहेको विश्वकप टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले बिदाइ गरेका हुन् ।

क्यानले गएको शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी) को आयोजनामा माघ ५ गते सुरु हुने यु १९ महिला विश्व कप माघ २० सम्म सञ्चालन हुने छ ।
विश्व कपको दोस्रो संस्करणमा नेपाल सहित १६ टोलीले सहभागिता रहने छ ।

प्रतियोगिता दोस्रो संस्करण आउदा नै नेपालले विश्वकपका लागि आफूलाई योग्य टिमको रुपमा उभ्याएको छ । एसिया छनोटको खेलमा युएईमाथि ८ विकेटको विजय निकालेको नेपाल विश्व कपका लागि छनोट भएको थियो। नेपाली महिला क्रिकेट टिमको यो यो पहिलो विश्व कप हो । विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ । जुन समूहमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् ।

विश्वकपका निर्धारित खेलहरु खेल्नुपूर्व नेपालले सोमबार वेष्ट इण्डिजसंग र बुधबार अमेरिकासंग वार्म अप गेम खेल्ने छ ।

नेपालले माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्व कपमा डेब्यु गर्नेछ ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल माघ ७ गते रहेको छ । नेपालले विश्व कपको समूह चरणको आफ्नो अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियाको सामना गर्नेछ ।

Image

विश्व कपको समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् ।

समूह चरणको खेलमा शीर्ष ३ मा रहन सकेमा नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ । सुपर सिक्सका दुई समूह हुनेछन् ।

ग्रुप १ मा समूह ‘ए’ का शीर्ष तीन राष्ट्र तथा समूह ‘डी’ का शीर्ष ३ देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ का शीर्ष तीन देश तथा समूह ‘सी’ का शीर्ष ३ राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिज जस्ता मुलुकसँग खेल्ने मौका पाउने छ ।

सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । पहिलो संस्करणको आइसिसी यु १९ महिला टि२० विश्व कप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । पहिलो संस्करणको फाइनलमा इङ्ग्ल्याण्डलाई ७ विकेटले हराउँदै भारत च्याम्पियन भएको थियो ।

पूजा महतोको कप्तानीमा रहेको नेपाली यु १९ महिला टोलीा सोनी पाख्रिन, किरणकुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।

Share Now