काठमाडौँ, २८ पौष । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौं उपस्थित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी उहाँलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।
आइतबार बिहानै अदालत उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।
लामिछानेको बयान सकेर थुनछेक बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ अदालतमा पुग्नुभएको थियो ।
तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भन्दै इजलासमा प्रश्न उठाएपछि न्यायाधीशले उहाँलाई आज प्रहरीको जिम्मा लगाउने आदेश दिनुभएको हो । जिल्ला न्यायाधीशको यो आदेशपछि पोखराबाट धरौटीमा रिहा हुनुभएका लामिछाने आज न्यायिक हिरासतमा जानुहुने भएको हो ।