काठमाडौं, २८ पौष । जय ट्रफी मेन्स एलिट कपको समूह चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब र आआफ्ना प्रतिस्पर्धी क्रमश: बागमती प्रदेश र मधेश प्रदेश टिमलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका छन् ।
आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपको फाइनलमा स्थान बनाएको छ ।
एलिट कपको फाइनलमा स्थान बनाउँने पुलिस दोस्रो टोली हो । यसअघि मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनलमा स्थान पक्का गरिसकेको छ । आइतवार सकिएको लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ विकेटको जित हासिल गर्यो ।
बागमतीले दिएको १ सय १६ रनको लक्ष्य पुलिसले ५ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा शंकर रानाले सर्वाधिक ५६ रन जोडे । उनले ४५ बलमा ९ चौका प्रहार गरे । कप्तान कुशल भुर्तेल ३२ रनमा आउट हुँदा अर्जुन साउद २० रनमा नट आउट रहे ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले २ तथा नन्दन यादव, प्रतिस जिशी र सुर्य तामाङले समान १ विकेट लिए । पहिलो इनिङ्समा १ सय ३ रनको पछि परेको बागमतीले दोस्रो इनिङमा २ सय १८ रन जोडेको थियो ।
दोस्रो इनिङमा बागमतीले १ सय १५ रनको अग्रता लिएको थियो । बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७० रन जोडे । उनले ७४ बलमा १२ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डे ५२, कप्तान सन्दीप लामिछाने र सुर्य तामाङ समान १६ तथा उत्तम थापा मगर १४ रनमा आउट भए ।
पुलिसका लागि ललितनारायण राजवंशीले ३, श्रवण यादवले २ तथा प्रेम तामाङ, कुशल भुर्तेल, राशिद खाना र गुलशन झाले समान १ । १ विकेट लिए । त्यसअघि जनकपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको बागमती ३३.२ ओभरमा १ सय १२ रनमा अल आउट भयो ।
बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन जोडे । उनले ९४ बलमा १० चौका प्रहार गरे । प्रतिक श्रेष्ठले १२ रन जोड्नु बाहेक बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि श्रवण यादवले ह्याट्रिक सहित ३ विकेट लिए । श्रवणले लिएको ह्याट्रिक प्रतियोगिताकै पहिलो हो। उनले २७औं ओभरमा प्रतिक श्रेष्ठ, सूर्य तामाङ र सन्दीप लामिछानेलाई आउट गराएका थिए । खेलमा ललितनारायण राजवंशीले ३ तथा कुशल भुर्तेलले २ विकेट लिए ।
पुलिसले पहिलो इनिङ्समा ४५.५ ओभरमा २ सय १५ रन जोडेको थियो । पुलिसका लागि अमितले सर्वाधिक ७९ रन जोडे । उनले ९७ बलमा १० चौका र २ छक्का प्रहार गरे । अमितले चौथो विकेटका लागि अर्जुनसँग मिलेर १ सय ४८ रनको शतकीय साझेदारी गरे ।
अर्जुनले ८२ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७७ रन बनाए । गुलशन झाले १७ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ४, नन्दन यादव र प्रतिस जिसीले समान २ तथा रिजन ढकालले १ विकेट लिए ।
मधेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा
त्रिभुवन आर्मी क्लब मधेश प्रदेशलाई हराउँदै जय ट्रफी मेन्स एलिट कपको फाइनल प्रवेश गरेको छ ।
आइतवार सम्पन्न पाँचौ खेलमा आर्मी क्लबले मधेशलाई ८ विकेटले पराजित गरेको हो । दोस्रो इनिङमा २८ रनको झिनो लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो ।
पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै मधेश फलोअनमा परेको थियो । मधेश पहिलो इनिङमा १ सय २३ रनले पछि पर्दै फलोअनमा परेको थियो ।
फलोअनमा परेर लगत्तै दोस्रो इनिङको ब्याटिङ गरेको मधेशले १ सय ५० रनमा सबै विकेट गुमाएको थियो । मधेशले दोस्रो इनिङमा आर्मीसँग २७ रनको अग्रता लिएको थियो । त्यसपछि २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो ।
तृत राज दासले १३, इमरान शेखले नटआउट ८ र बसिर अहमदले नट आउट ४ रन जोडे । मधेशका लागि प्रदिप पासवानले २ विकेट नै आफ्नो नाम गरे ।
दोस्रो इनिङमा मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन जोडे । कप्तान हरिशंकर शाह २५, अभिषेक तिवारी १९, निरज यादव १७ तथा हिमाशुं दत्त ११ रनमा आउट भए ।
आर्मीका लागि बसिर अहमदले ४, साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।
त्यसअघि शनिवार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५९.३ ओभरमा २ सय २५ रन बनाउँदा ९ विकेट गुमाएको स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो ।
आर्मीका लागि बसिर अहमदले सर्वाधिक ६७ रन जोडेका थिए । उनले ९८ बलको सामना गर्दै ९ चौका प्रहार गरेका थिए । छैठौं विकेटका लागि बसिरले भीम सार्कीसँग मिलेर १ सय २ रनको साझेदारी गरेका थिए ।
भीमले ९३ बलमा ६ चौकाको सहयोगमा ५२ रन जोडेका थिए । ओपनर इमरान शेखले ७५ बलमा ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मधेशका लागि रञ्जित कुमारले ५, प्रदिप पासवानले २ तथा कप्तान हरिशंकर शाह र अभिषेक तिवारीले समान १ विकेट लिएका थिए।
पहिलो र दोस्रो खेल बराबरी खेलेको आर्मी तेस्रो जितका साथ फाइनल पुगेको छ ।
आजै सम्पन्न अर्को खेलमा बागमती प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल पुगेको छ ।
मधेशले २ खेलमा हार तथा १ मा बराबरी साथ तालिकाको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।
नेपाल पुलिस क्लबले २ खेलमा जित र १ मा बराबरी सहित ६६ अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको छ । त्रिभुवन आर्मी क्लब भने २ खेलमा बराबरी र १ मा जितका साथ ५५ अंक लिएर दोस्रो स्थानमा रहेर फाइनलका लागि छनोट भएको छ ।
आगामी मंगलवारदेखि हुने प्रतियोगिताको फाइनल खेल तीन दिवसीय हुनेछ ।