Prakash Adhikari January 24, 2025

काठमाडौं, ११ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको हर्नियाको अपरेशन गरिएको छ ।

बालाजुस्थित सिल्भरलाइन अस्पतालमा डा.दीपक शर्मा नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो ।

सन्दीपलाई विगत चार वर्षदेखि हर्नियाको समस्या देखिएको थियो ।पछिल्लो समय यसको समस्या बढ्दै गएपछि उनी उपचारको लागि फुर्सदको खोजीमा थिए । तर विश्वकप टी २०, विश्वकप लिग,एनपीएल र जय ट्रफीमा टीम क्याप्टेनको रुपमा खटिन परेकोले उनले आफ्नो स्वास्थ्यमा त्यति ध्यान दिन सकेका थिएनन् ।

जय ट्रफि सकिने बित्तिकै कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरु नभएको मौका पारेर उनले हर्नियाको अपरेशन गराएका हुन् । करिब डेढ घण्टामा उनको शल्यक्रिया सकिएको अस्पतालले जनाएको छ । शल्यक्रियामा सन्दीपलाई पुरै बेहोस बनाइएको थियो ।

स्वास्थ्य लाभका लागि सन्दीप ४देखि ५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालका प्रवन्धक डा. अभिषेकराज सिंहले जानकारी दिनुभएको छ। उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् । ‘उहाँले एक महिना रेस्ट गर्नुपर्छ, अन्यथा विभिन्न जोखिमहरु हुन सक्छन्’, डा. सिंहले भन्नुभएको छ ।

पेटभित्रका अंग फुलेर बाहिर गाँठो जस्तो देखिने समस्यालाई हर्निया भनिन्छ । पेटको मांसपेसी कमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ । उक्त प्वालबाट पेटभित्रको बोसे आन्द्रा सुन्निएर आउँछ र गाँठो जस्तो देखिने डाक्टरहरु बताउँछन् ।

हर्निया पालेर खेल मैदानमा उत्रिदा जेलपछिका उनको खेलमा पहिले जस्तो निखार आएको थिएन । हालै सम्पन्न जय ट्रफी र नेपाल प्रिमियर लिगमा पनि उनले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । अब रोग फालेर मैदान उत्रिदा सन्दीप पुरानो लयमा फर्किने आशा उनका समर्थक र शुभेच्छुकहरुले गरेका छन् । अस्पतालमा उपचार गराईरहेका सन्दीपको शीघ्र स्वास्थ्य लाभको कामना ।

Share Now