भैरहवा(रुपन्देही), ११ माघ । रूपन्देही जिल्ला अदालतले भूतपूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगातार तेस्रो दिन हाजिर जमानीमा छाड्न आदेश दिएको छ।
“प्रतिवादीका तर्फबाट बहस नसकिएकाले आइतवार पुनः बहसले निरन्तरता पाउने छ। हाजिरी जमानीमा छाड्ने अस्तिको आदेश कायम छ,” अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो ।
बुधवार बयान लिइएको अदालतमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बिहीवार र शुक्रवार थुनछेक बहस भएको हो।
थुनछेक बहसको पहिलो दिन बिहीवार सरकारी वकिल र जाहेरवालाका तर्फबाट केही वकिलले मात्र बहस गर्न भ्याएका थिए। शुक्रवार प्रतिवादीका तर्फबाट केही वकिलले बहस गरेका छन्।
लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतवार मुद्दा दर्ता भएको थियो।
चितवन र पर्सामा अनुसन्धान
रवि लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र सुरु मुद्दाका २८ जनासहित ४२ जनाविरुद्ध त्यहाँ मुद्दा दर्ता भएको छ।
यसअघि उक्त अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवन आउँदो साताभित्र लामिछानेविरुद्ध मुद्दा दर्ता गरिने जनाएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले चाहिँ अनुसन्धान जारी रहेको भन्दै मुद्दा दर्तामा केही समय लाग्ने बताएको छ।
यसअघि माघ २ गते काठमाडौ जिल्ला अदालतले ६० लाख रुपैयाँ र पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा कास्की जिल्ला अदालतले लामिछानेलाई रिहा गरेका थिए।
कास्की र काठमाडौ जिल्ला अदालतले दुवैले थुनछेक बहसका लागि लामिछानेलाई थुनामा पठाएका थिए।
काठमाडौको मुद्दा कस्तो?
काठमाण्डूमा लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन र सङ्गठित अपराधसम्बन्धी मुद्दा परेका छन्।
सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरी बचतकर्ताको रकम ठगी गरेको र त्यो कार्य सङ्गठित रूपमा भएको भन्दै गत महिना मुद्दा दर्ता गराएको थियो।
उनीहरूविरुद्ध कुल एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ सहकारी सदस्यहरूको बचत रकम अपचलन गरेको आरोप छ।
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाका मामिलामा दायर अभियोगपत्रमा कास्कीमा जस्तो लामिछानेसहित प्रतिवादीहरूलाई सम्पत्ति शुद्धीकरण मामिलामा भने कारबाही मागदाबी गरिएको छैन।
कहिले के भयो?
कात्तिक २: काठमाडौमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ, पोखरा चलान
कात्तिक ४: कास्की जिल्ला अदालतद्वारा पक्राउ परेको दिनदेखि लागु हुने गरी छ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति
कात्तिक ८: कास्कीमै दोस्रो पटक सात दिन म्याद थप
कात्तिक २०: कास्कीमै तेस्रो पटक १० दिन म्याद थप
कात्तिक २५: कास्कीमै चौथो पटक १३ दिन म्याद थप
कात्तिक २५: अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान
मङ्सिर ९: कास्कीमै पाँचौ पटक १५ दिन म्याद थप
मङ्सिर १३: अनुसन्धानका लागि पोखराबाट काठमाडौ लगेर बयान
मङ्सिर १८: अनुसन्धानका लागि काठमाडौबाट चितवन लगेर बयान
मङ्सिर २३: कास्कीमै छैँटौँ पटक चार दिनका लागि म्याद थप
मङ्सिर २४: अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो
मङ्सिर २५: पर्सामा बयान
मङ्सिर २६: पर्साबाट काठमाडौ हुँदै पोखरा लगियो
मङ्सिर २७: पाँच दिनका लागि कास्कीमा सातौँ पटक म्याद थप
पुस १: प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस
पुस २: जिल्ला अदालत कास्कीद्वारा चार दिनका लागि आठौँ पटक म्याद थप
पुस ७: कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
पुस २१: स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौ जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता
पुस २५ः कास्की जिल्ला अदालतको निर्णयपछि ६५ लाख रुपैयाँ धरौटीमा रिहा
पुस २८ःकाठमाडौ जिल्ला अदालतमा उपस्थित, पुनः हिरासतमा
माघ २ः काठमाडौ जिल्ला अदालतद्वारा धरौटीमा रिहा गर्न आदेश
माघ ६: रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता
माघ ९ः रूपन्देही जिल्ला अदालतद्वारा हाजिरी जमानीमा छाड्न आदेश