-प्रदीप बस्याल / बीबीसी न्यूज नेपाली
काठमाडौं, १३ माघ । हिउँदमा सगरमाथा आरोहण गरिएको झन्डै तीन दशक अघि हो। एक जर्मन युवा त्यो कीर्तिमान तोड्ने प्रयासमा निरन्तर लागेका छन्। उनले रोजेको बाटोबाट त हिउँदमा अहिलेसम्म कोही पनि सगरमाथाको चुचुरोमा पुगेको छैन। चीनको तिब्बत केन्द्रबिन्दु भएको ज्यानुअरी ७ को भूकम्पको धक्काले यो वर्ष विफल तुल्याइदिएको आफ्नो त्यो प्रयासलाई उनले आउँदो हिउँदमै निरन्तरता दिने बीबीसीलाई बताएका छन्।
त्यसै पनि जाडो यामको आरोहणलाई ‘दुर्लभ र दुस्साहसपूर्ण’ मानिन्छ। आरोहीहरूका अनुसार त्यो याममा सर्वोच्च शिखर पुग्ने कठिन बाटोमा जताततै र जतिखेरै प्रतिकूलता मात्र हुन्छ।
त्यस्तोमा स्वयं आत्मनिर्भर भएर आरोहण गर्ने शैलीका लागि परिचित ३२ वर्षीय जर्मन आरोही जोस्ट खोबुस त्यो प्रतिकूलतालाई चिर्दै शिखर चुम्ने प्रयासमा केही वर्षदेखि जुटिरहेका छन्।
सकेसम्म सीमित मात्र स्रोतसाधनबीच एक्लै र बिना अतिरिक्त अक्सिजन उनले रोजेको बाटो पनि चुनौतीपूर्ण मानिन्छ। किन कि अधिकांशले सगरमाथा चढ्ने मुख्य दुई मोहडामा जस्तो लोला पश्चिमी मोहडाबाट पहिल्यै बाटो पहिल्याएर कसैले डोरी टाँगेको हुँदैन।
“यो एक पटकमा हुने खालको आरोहण होइन। मेरा लागि पर्वतारोहण भनेको [चुचुरो पुग्ने] यात्राको अनुभूति हो, त्यसैले मलाई सगरमाथाले डोर्याइरहेको छ,” उनी भन्छन्, “वर्षौँदेखि म आफूलाई झन्झन् बढ्ता एक्लै आरोहण गर्न सक्षम बनाउँदै निर्जन र कठिन परिवेशमा सक्दो कम स्रोतसाधनबीच पुगिरहेको छु।”
यस पटक उनी ७,५०० मिटरभन्दा केही माथि पुगे। यसै वर्ष आरोहणले पूर्णता नपाए पनि त्यो नै एउटा कीर्तिमान बनिसक्यो।
किन कि जोस्ट अघि बढेको आरोहण मार्गमा यसअघि सन् १९८४ को हिउँदमा शेर्पाहरूसहित फ्रेन्च-इटलिअन-बेल्जिअन आरोहण दल ७,५०० मिटरको उचाइसम्म मात्र पुगेको थियो। झन्डै ४० वर्षपछि यस पटक उनी त्योभन्दा माथि पुगे।
“त्यस्तो ठाउँ तथा परिवेशमा हुँदा कहिलेकाहीँ म आफूले गर्ने योभन्दा उग्र र खराब कुरा अरू के नै होला र भन्ने सोचिरहेको हुन्छु,” उनले बीबीसीसँग भने।
सन् १९९३ यता कुनै पनि मोहडाबाट सगरमाथाको हिउँदे आरोहण भएको छैन।
१२ हजार पटकभन्दा बढ्ता सगरमाथा आरोहण भइसक्दा समेत १५ जना मात्र हालसम्म जाडो याममा सगरमाथा चढ्नुले पनि त्यसको कठिनाइ झल्काउँछ।
हिउँदमा अतिरिक्त अक्सिजन बिना अहिलेसम्म सगरमाथा चुचुरोमा पुग्ने व्यक्ति आङरिता शेर्पा मात्र हुन्।
हिमालमा निदाइरहँदा भोगेको भूकम्प
सगरमाथानजिकै केन्द्रबिन्दु भएको ज्यानुअरी ७ को ७.१ म्याग्निट्यूडको भूकम्प जाँदा आरोही खोबुस सगरमाथाको उक्त मोहडाको ५,७०० मिटर उचाइमा अवस्थित क्याम्प-१ मा थिए।
भूकम्पसँगै हिमालको दुवैतिर नेपाल र तिब्बतका गाउँ-सहरमा हल्लीखल्ली र भाग दौड मच्चियो।
कमजोर हिमाली सतहमा एक्लै रहेका यी ३२ वर्षीयले के-के झेले, उनका मनमा के-के कुरा खेले?
“मेरो दायाँ-बायाँ बरफका ढिक्का उछिट्टिन थाले। त्यही बेला नजिकैको एउटा बरफको ढिस्को फुटेर जोडले मेरो टेन्टमा बज्रियो, म भित्तोतिर टाँसिएँ,” काठमाण्डूमा बीबीसीसँगको भेटमा उनले सम्झिए, “क्षणभरमै टेन्ट उघारेर बाहिर हेर्दा आसपास हिम पहिरो गएका थिए, जमिन नराम्ररी थर्किरहेको थियो।”
भूकम्प जाँदा जोस्ट ५,७०० मिटरको उचाइमा रहेको आफ्नो मोहडाको पहिलो शिविरमा थिए।
सम्भावित उद्धारको लागि त्यो आरोहीले आम रूपमा प्रयोग गर्ने मोहडा होइन। दुर्लभ प्रयोगमा आउने चट्टानी बाटो भएकाले त्यो जहिल्यै अस्थिर अवस्थामै हुन्छ।
त्यो हेक्का राखेरै पहिल्यै कडा चट्टानी भित्तोसँग जोडेर आफ्नो टेन्ट बनाएको उनी बताउँछन्।
“भूकम्प आइरहँदा तत्कालै आफू बसेको ठाउँको लेखाजोखा गरेँ। त्यो तुलनात्मक रूपमा केही सुरक्षित कुनामै रहेको ठानेपछि बल्ल केही चैन महसुस भयो,” उनले सुनाए।
हिमालको सबैभन्दा कठोर याममा सगरमाथामा हुरी समेत उच्च गतिमा चल्ने गर्छ। त्यसको वेग प्रतिघण्टा २५० किलोमिटरसम्मको हुने बताइन्छ।
“पहिलो धक्का शान्त भएपछि मैले अझै कुनै भूकम्पको ‘सकवेभ’ वा बरफका ढिक्का फुटेर आउने ‘प्रेसरवेभ’को मार पर्ला कि भन्ने लेखाजोखा गर्न थालेँ,” उनी सुनाउँछन्, “त्यस्तो अवस्थाका लागि मेरो टेन्ट निकै बलियो गरी खडा गरिएको थियो। त्यसमाथि आरोहणको डोरीले बलियो गरी त्यसलाई बाँधिएकाले प्रेसरवेभ आइहालेमा म अझ भित्तोतिर ढल्किन्छु भन्ने सोचेँ। म थप ढुक्क भएँ र फेरि सुत्न गएँ।”
केही घण्टा हलचल भएको हिमाल शान्त होस् भन्नका लागि पर्खिएको र त्यसपछि तल झर्ने योजना बनाएको उनी सुनाउँछन्।
झर्ने सुरसार के गर्दै थिए उनको मोबाइलमा एकपछि अर्को गर्दै सन्देशहरू आउन थालेछन्। भूकम्प कति शक्तिशाली थियो भन्ने भेउ उनले त्यस बेला बल्ल थाहा पाए।
“त्यसपछि मेरो प्राथमिकतामा चुचुरोतिर रहेन। म सुरक्षित ओर्लने तयारीमा जुट्न थालेँ,” दिउँसो नै आधार शिविर ओर्लिएको सन्तोष उनको अनुहारमा झल्किन्थ्यो।
२०७२ सालको भूकम्पले सगरमाथा आधार शिविरमा मात्रै आरोही र पदयात्री गरी करिब डेढ दर्जनको सङ्ख्यामा मानिसहरूले ज्यान गुमाउँदा उनी पनि त्यहीँ थिए।
जतिखेर उनले खिचेको तत्कालीन अवस्थाको सबैभन्दा राम्रो झल्को दिने भिडिओ क्षणभरमै संसारभरबाट लाखौँले हेरेका थिए।
आउँदो हिउँदमा अब अर्को प्रयास
भूकम्पपछि हिमाल अस्थिर बनेको र त्यस्तोमा ढुङ्गा खस्ने र हिमपहिरो जाने जोखिम बढ्ने भन्दै यस यामका लागि आफ्नो आरोहण अन्त्य गर्दै उनी घर फर्केका छन्।
तर पनि यस पटक उनी सगरमाथा चुचुरो पुग्ने उक्त दुर्लभ बाटोमा पछिल्लो पटक पुगिएको उचाइ नाघ्न सफल हुनुलाई एउटा मुख्य उपलब्धि मानेका छन्।
यस वर्षका कम्तीमा उक्त उचाइसम्म पुग्ने लक्ष्य राखेकाले पनि आफू ‘खुसी नै रहेको’ उनी सुनाउँछन्।
भूकम्पभन्दा झन्डै डेढ साताअघि उनको उचाइ नाप्ने घडीले यस पटक उनी पुगेको उच्च बिन्दु ७,५३७ मिटर देखाएको थियो। जीपिएसमा पनि त्यसकै आसपास उचाइ देखायो।
हिउँदमा उक्त मोहडामा पुगिएको त्यो नै कीर्तिमानी उचाइ हो।
उनी भने त्यसलाई ठूलो कीर्तिमान भनिरहन आवश्यक नरहेको ठान्छन्। तर पाँच वर्षअघि ‘वेस्ट सोल्डर’ भनिने करिब ७,००० मिटरको उचाइसम्म पुग्न उनलाई ६४ दिन लागेको थियो। त्यतिखेर उनी ७,३६६ मिटरसम्म पुगे।
सन् २०२१-२२ को हिउँद्मा मौसम निकै खराब भएपछि ६,४०० मिटरको उचाइबाटै फर्कनु परेको थियो।
“मुख्य कुरा म त्यस मोहडालाई झन् झन् राम्ररी बुझिरहेको छु। यस पटकको अनुभवले झन् धेरै कुरा सिकाएको छ। सायद म अर्को हिउँद्मा सगरमाथामा फर्किएँ भने सैद्धान्तिक रूपमा चुचुरो पुग्न सक्ने सम्भावना नाटकीय रूपमै बढेको छ,” आफ्नो चौथो प्रयास सकेर फर्कने क्रममा जोस्टले भने।
“मेरा हरेक पटकका प्रयासले यसको सम्भावना थपिरहेको छ। यस्तो आरोहण एकैपटक आएर एकपटक उकालो लाग्दैमा सम्भव हुँदैन।”
उनले यसबीचमा मोहडाको प्राविधिक पक्ष, आफ्नो शारीरिक क्षमताको स्वमूल्याङ्कन र आफूले बोक्नुपर्ने बन्दोबस्तीको लेखाजोखाबारे पनि धेरै सिकिरहेको बताउँछन्।
“मेरा सबै तालिम र नयाँ रणनीतिहरूले काम गरिरहेका छन्। अघिल्ला दुई आरोहणले धेरै सिकाए,” जोस्टको भनाइ छ, “मेरा लागि अहिलेसम्म म कति उचाइमा पुगेँ भन्दा पनि अनुभव काम लाग्न थाल्यो भन्ने कुरा महत्त्वपूर्ण छ।”
सोचेजस्तो सबै भइदिए उनी सन् २०२५ कै हिउँदमा सगरमाथा फर्कनेछन् र अर्को वर्षको सुरुतिर फेरि सगरमाथामा उकालो लागिरहेका हुनेछन्।
“सौखिन पर्वतारोहीहरू सधैँ अप्ठ्यारै मोहडाबाट हिमाल उक्लन्छन् र त्यहाँ भिन्न भिन्न बाटो खोतल्छन्। उनीहरू दर्जनौँ पटक अनेकौँ प्रयास गर्छन् र अन्तिममा पाउने सफलतामा त्यसबीचका सबै सिकाई जोड्छन्,” उनी भन्छन्।
“मेरो हिउँदे सगरमाथा आरोहण गर्ने तरिका त्यस्तै हो र यो अहिलेको आधुनिक शैली पनि हो। तर धेरै अघिका वर्षमा त्यस्तो सम्भव हुन्थेन, आरोहीहरू कि चुचुरो पुग्ने वा मर्ने भन्ने विकल्पबीच अघि बढ्थे।”
नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले कानुनतः कम्तीमा एक पथप्रदर्शक सहयोगी लिएर मात्रै आरोहण गर्न सकिने प्रावधान भए तापनि व्यवहारिक रूपमा एक्लै आरोहणमा जान सकिने आधार हुने बताउँछन्।
मन्त्रालयका उपसचिव राकेश गुरुङ भन्छन्: “टोली नेताले आवश्यक ठानेमा र गाइड चुचुरोमै पुग्न चाहेमा उसलाई रोक्न मिल्दैन। चुचुरोसम्मै जाने-नजाने भन्ने कुरा गाइड र टोली नेतामा निर्भर रहने कुरा भयो। तर एउटा विन्दुसम्म गाइड जानै पर्छ।”
जोस्टका हकमा सोही प्रावधानमा टेकेर उनका सहयोगी शेर्पाहरूले आधार शिविरसम्म मात्र पुगेर सघाएको पाइएको अधिकारीहरू बताउँछन्।
हिउँदमा सगरमाथाको आधार शिविरमा जोशको एक्लो टेण्ट
१६ किलोको ब्याकप्याक, अरु तयारी कस्तो?
हिउँदमा चिसो हावा तलतर्फ बहने हुँदा सगरमाथाको माथिल्लो उचाइमा ‘ब्यारोम्याट्रिक’ चाप घट्ने र त्यसले चुचुरो नौ हजार मिटरभन्दा माथि पुग्दाजस्तो हुने बताइन्छ।
‘डेथ जोन’ भनिने आठ हजार मिटर माथिको उचाइमा हिउँदमा तापक्रम माइनस ४० डिग्री सेल्सिअससम्म पुग्छ। त्यस्तोमा सक्दो हलुका भएर चुचुरो पुग्नु महत्त्वपूर्ण हुने योस्ट बताउँछन्।
सक्दो माथिल्लो उचाइसम्म पुग्ने लक्ष्य राखे पनि जोस्टको योजनामा यही नै याम चुचुरो पुग्ने भन्ने चाहिँ थिएन।
“मैले यस आरोहणका लागि अलि बढी नै अभ्यासहरू गरेछु कि नेपाल आउनु भन्दा केही दिनअघि मलाई चोट लाग्यो… म चढ्नै नसक्ने त थिइनँ तर म जस्तो किसिमको एथ्लिट हुन खोजिरहेको थिएँ त्यसको लागि मेरो तन्दुरुस्ती पर्याप्त थिएन,” योस्टले सुनाए।
“लक्षित आरोहण उच्च सहनशीलता सहितको चुनौती हो।”
९० लिटर क्षमताको भित्रपट्टि सामान राख्न सकिने उनको ‘ब्यागप्याक’मा त्यसको बाहिरपट्टि समेत सामान झुन्डिएका हुन्छन्।
जस्तो, बाहिरपट्टि कार्बन फाइबरको बेल्चा झुन्डिएको हुन्छ भने भित्रपट्टि सबैभन्दा तल ‘स्लीपिङ ब्याग’ राखिएको हुन्छ।
उनीसँग हुने खानेकुरा केही मिनेट उमालेर खान सक्नेगरी सुकाइएका हुन्छन्।
उनको झोलामा त्यसबाहेक पट्याउन मिल्ने चकटी, इपिग्याँस, विन्टर ग्याँस, सानो कुकर, टेन्ट, सन्सक्रिम हुन्छन्।
रक र आईस क्लाइम्बिङमा पोख्त उनीसँग कहीँ कतै झुन्डिएर उक्लनु वा ओर्लनुपर्ने अवस्थाका लागि छ मिलिमिटर मोटो सानो डोरी साथमै हुन्छ।
“सक्दो छानेर राखिएकाले यी हरेक सामानको अहम् महत्त्व छ। एउटा मात्रै केही तलमाथि परेमा त्यसले अप्ठेरोमा पार्छ। सबैजसो सामान राख्दा त्यो १६ देखि १८ किलोसम्मको हुन्छ,” जोस्ट सुनाउँछन्।
“यसले मलाई के बुझाएको छ भने पूर्णता भनेको अरू केही थप गर्ने अवसर नहुनु होइन, बरु थप केही हटाउने अवसर नहुनु हो।”
उनी त्यही मझौला तौलको झोला बोकेरै सगरमाथा पुग्ने सोचमा छन्। त्यसका लागि शारीरिक रूपमा मात्र नभएर मानसिक रूपमा आफूलाई बलियो बनाउन उनी जोडतोडले लागेका छन्।
“एक्लै गरिने आरोहणमा शारीरिक रूपमा निकै सक्षम हुँदा पनि चाहिएका बेला आफ्नो क्षमताले नपुगेझैँ लाग्छ। तर मानसिक रूपमा दह्रो हुन यस क्रममा धेरै सिकिन्छ र त्यसरी नै जोखिम सामना गर्ने अनि सोहीअनुसार निर्णय लिने क्षमता विकास गरिन्छ,” उनको अनुभव छ।
“केही मुख्य कुरामा पहिले नै आफू प्रस्ट हुन आवश्यक छ। जस्तो, म यसको तयारीका बेला हुने सबै असफलता सिकाई मात्र हुन् भन्ने सोच्छु। त्यसबाहेक मैले पुस्तक पढ्ने, मनोविज्ञहरूसँग परामर्श गर्नेजस्ता काम नगर्ने पनि होइन।”
पछिल्ला चार वर्षको आफ्नो आरोहणलाई उनी यस उद्देश्यलाई ‘रुटिन’ जसरी हेर्न सिकाइरहेको बुझेका छन्।
“यसरी एक्लै आरोहण गर्दा जोखिम हुन्छ नै, नभए त यो कुनै सिँढी चढेजस्तै भयो, हो! थेग्नै नसकिने जोखिमका बेला जबरजस्ती अघि नबढ्ने निर्णय लिन सक्नुपर्छ,” उनको आवाजमा दृढता सुनिन्थ्यो, “परकम्पहरूबीच सगरमाथामा अघि बढिरहेको भए कसरी काठमाण्डूमा बसेर म तपाईँलाई यसरी अन्तर्वार्ता दिन सक्थेँ होला त!”