
काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक सिहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ ।
संसदीय दलमा नेपाली कांग्रेसले जनसरोकारका विषयलाई संसदमा सशक्त डंगले उठाउने विषयमा छलफल हुने बताइएको छ ।
सरकार बनेको साढे चार महिना नाघे पनि सरकारले जनताको हितका पक्षमा सिन्को भाच्न नसकेकोले सरकारको अकर्मण्यर्तालाई उदांगो बनाउदै जनताको ध्यान आफूप्रति आकृष्ट गर्न नेपाली कांग्रेसले संसदीय मोर्चालाई प्रभावकारी बनाउन खोजेको छ ।
आजको बैठकमा संसदीय समितिमा नेपाली कांग्रेसले पाउने भागवण्डा र छाया सरकारको गठनका विषयमा पनि छलफल हुने बताइएको छ ।
कांग्रेसले बाढी पहिरोबाट पीडितको उद्धार,राहत र स्थानान्तरण, हुम्लामा फसेका भारतीय तीर्थयात्रीको उद्धार,
प्रा .डा . गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षा, शान्तिपूर्ण विरोध प्रदर्शनको नागरिक अधिकारमाथिको नियन्त्रण,, मूल्यवृद्धि, चिकित्सा शिक्षा विधेयक, गैरसरकारी संस्थामाथि लगाउन खोजिएको नियन्त्रण, निर्माण व्यवसायी र अन्य पेशागत संगठनप्रति सरकारद्धारा गरिएको कारबाही लगायतका विषयलाई सशक्त ढंगले उठाउने कुरा पनि बैठकमा उठने भएको छ ।
कांग्रेसका नेताहरु अब सरकारको निरड.कुशताको विरोधमा एकजुट हुन खोजेका छन् ।
पार्टी सभापति देउवाले मंगलवार आफ्नै निवास बुढानीलकण्ठमा एक वैठकको आयोजना गरे। पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरु गरि झण्डै डेढ दर्जन नेताहरु सहभागी भएको बैठकले पार्टीलाई एकताबद्ध बनाएर सरकारका विरुद्धमा सशक्त ढंगले प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको थियो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलै उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्ण बहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव वैठकमा थिए।
काँग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छेदार, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, पूर्व सहमहामन्त्रीद्वय डा रामशरण महत र अर्जुननरसिंह केसी, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव पनि वैठकमा थिए।
नेपाली काँग्रेसका नेताहरु महेश आचार्य, डा मिनेन्द्र रिजाल, वालकृष्ण खाँण, प्रवक्ता विश्वप्रकाश शर्मा सहितका नेताहरु वैठकमा थिए।
सभापति देउवाको नीजि निवासमा वैठक बोलाइए पनि वैठकको शुरुवात भने बरिष्ठ नेता पौडेलले गरेका थिए।
बैठकमा पार्टीको आन्तरिक सुधार, संगठन सुदृढीकरण, भातृ संगठनको सुधार, भातृ तथा शुभेच्छुक संस्थाको विधि सम्मत संचालन, संसदमा प्रतिपक्षी दलको रुपमा काँग्रेसको भुमिका, अनशनरत गंगामायाको बिषय, डा गोविन्द केसीले उठाएका मुद्धाहरुको सम्वोधन गराउन पार्टीले खेल्नुपर्ने भुमिका, निषेधित क्षेत्र तोकेको सरकारको निरंकुश चरित्र उदाङगो पार्ने, सभामुख र उपसभामुखको व्यवस्था संविधान अनुसार बनाउन पार्टीको भुमिकालाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको नेता पौडेलले बताए। उनले एकतावद्ध भएर अघी बढ्ने बारेमा सबैको सहमति प्रकट भएको बताए।
काँग्रेस नेता अर्जुन नरसिंह केसीले विगतका कमिकमजोरी सुधारेर एकतावद्ध बनाएर जान सकिन्छ भन्नेमा वैठकमा सहभागि धेरैको धारणा आएको बताए। केसीले छलफल शुरु भएको तथा सौहार्दपूर्ण वातावरण बनेको जनाए।